निरन्तरको वर्षासँगै डुबानमा विराटनगर (फोटो फिचर)

विराटनगर, २८ असार । निरन्तरको वर्षासँगै विराटनगरका नदीहरूमा पानीको मात्रा बढ्न थालेको छ ।

नदीमा पानीको मात्रा बढेसँगै विराटनगरका विभिन्न नदीका छेउछाउमा रहेका स्थानीयहरूलाई बाढी र डुबानको समस्याले पिरोल्न थालेको छ ।

बुधबारदेखि अविरल वर्षा भइरहेका कारण विराटनगरस्थिल केशलिया नदी वरपरको क्षेत्र डुबानमा पर्न थालेका छन् ।

नदी छेउछाउमा रहेका गाउँबस्तीसमेत निरन्तरको वर्षा र वर्षापछिको बाढी र डुबानबाट प्रभावित हुन थालेका छन् ।

बर्जु गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमाना हुँदै बग्ने केशलिया नदी हरेक वर्षझैं यस वर्ष पनि विराटनगरवासीहरूको घर र खेतमा पसेको छ ।

नेपालमा मनसुन सुरु भएको एक हप्ता नहुँदै विराटनगर महानगरपालिका–६ ब्रह्मापुरका स्थानीयवासीका सयौं विघा जग्गाहुँदै केशलिया नदी बग्न थालिसकेको छ ।

नदी छेउमा घर बनाएर बसेका सुकुम्बासीहरुलाई पानीको मात्रा बढेसँगै झनै बढी पिरोलेको छ ।

ब्रह्मापुरलाई विराटनगर–धरान सडकखण्डमा जोड्ने करिब तीन सय मिटर कालोपत्रे सडकमा केशलियाको खोलाको पानी बगिरहेको छ । बगिरहेको पानीले बाटोको उत्तर र दक्षिण दुवैतिरका खेतीबाली नष्ट गरिदिएको छ ।

यस्तै, विराटनगर–१२ स्थित बखरीको ऋषिदेव टोल पनि बाढीबाट निकै प्रभावित बनेको छ । बिहान दुई बजेबाट केशलिया र खुकुरी नदी घरमा पस्न थालेपछि भएको लत्ताकपडा, भाँडा र बालबच्चा च्यापेर नजिकैको बखरी आधारभूत विद्यालयमा स्थानीयहरूले शरण लिइरहेका छन् । ऋषिदेव टोलका करिब ३० परिवार डुबान र बाढीबाट प्रभावित बनिसकेका छन् ।

वडा कार्यालय, स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरी बल, बखरीको समन्वयमा बाढी, डुबान प्रभावितहरूलाई सहयोग, उद्धार र राहत सामग्री प्रदान गर्ने कार्य भइरहेको छ ।

आफूहरू बर्सेनि डुबान र बाढीबाट प्रभावित हुँदै आइरहेको भएपनि अहिलेसम्म सरकारले ठोस कदम चालन नसकेको प्रति ब्रह्मापुर र ऋषीदेव टोलका स्थानीयवासीहरू दुःखी छन् ।

उनीहरू भन्छन्, ‘हरेक वर्ष एउटै समस्याबाट हामीहरू गुर्जन पर्छ तर पनि सरकारले हामीलाई कहिल्यै वास्ता गर्दैन ।’

Loading...