प्रदेश १ मा ४ हजार होटलको १० अर्ब लगानी जोखिममा, विराटनगरको जेनियल बन्द

विराटनगर, २८ असार । लकडाउनका कारण प्रदेश १ का चार हजार होटलको करिब १० अर्ब लगानी जोखिममा परेको छ । कोरोना महामारीका कारण प्रदेश १ मा निजी क्षेत्रले होटल क्षेत्रमा गरेको लगानी जोखिममा परेको हो ।

कोरोना महामारीका कारण २२ वर्षयता सञ्चालनमा रहेको प्रदेश १ कै पुरानो र थ्रीस्टार होटल जेनियल बन्द भएको छ । कोभिड १९ को कारण होटल व्यवसायमा परेको असर र सरकारले होटल र पर्यटन क्षेत्रको लगानीको जोखिम कम गर्न कुनै कार्यक्रम नल्याएपछि अन्य होटल पनि बन्द हुने अवस्थामा पुगेको व्यावसायीहरू बताउँछन् ।

प्रदेश १ मा ४ हजार होटलहरूमा ६० हजारले रोजगारी पाएका थिए । १० अर्ब लगानी रहेको होटल क्षेत्रमा कार्यरत अधिकांश मजदूरले रोजगारी गुमाएका छन् ।

होटल स्वागतका सञ्चालक एवं होटल संघ नेपालका प्रदेश अध्यक्ष राजन श्रेष्ठ होटलहरूको खराब अवस्था सुरु भएको बताउँछन् । सरकारले पर्यटन क्षेत्रलाई बचाउने गरी कार्यक्रम नल्याएको उनले असन्तुष्टि ब्यक्त गर्दै भने, ‘सरकारले ५ प्रतिशत ब्याजदरमा दिने भनेको ऋणसमेत अहिलेसम्म दिन सकेको छैन ।’

श्रेष्ठले कोरोनाको सबैभन्दा बढी प्रभाव भएको अमेरिका र भारतमा समेत होटलहरू स्वास्थ्य सतर्कता र डब्लुएचओको मान्यताअनुरुप सतर्कता अपनाएर खुलेका छन् । तर नेपाल सरकारले अझै खुला गर्ने अनुमति दिएको छैन ।

होटलहरूको हालत जेनियलको भन्दा खराब हुँदै गएको उनले बताए । ‘होटल बन्द गर्छु भनेर बन्द गर्न पनि नसक्ने अवस्थामा ब्यवसायीहरू छन्,’ उनले भने, ‘खोल्छु भन्दा पनि खोल्न सक्ने अवस्थामा छैनन् ।’

होटल बन्द गर्दा अहिलेसम्मको भाडा, बैंकको ऋण, स्टाफको तलब सुविधा सबै चुक्ता गरेर मात्रै बन्द गर्न सकिने भएकाले त्यो रकम तिर्न सक्ने हैसियतमा होटल सञ्चालकहरू नरहेको उनले बताए ।

‘सरकारले होटल चलाओ भन्यो भने पनि सञ्चालन गर्ने खर्चसमेत व्यवसायीसँग छैन,’ उनले भने, ‘होटल व्यवसायीहरू खाउ भने दिनभरिको शिकार नखाउ भने कान्छा बाउको अनुहारको अवस्थामा रहेका छन् ।’

स्टर्न स्टार होटलका सञ्चालक तथा होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष भविस श्रेष्ठले चार महिनादेखि विनाआम्दानी होटलहरू बन्द रहँदा सरकारले संरक्षणको कुनै योजना नल्याएको बताए । बन्द भएका होटल सञ्चालनका लागि सरकारले योजना नल्याउँदा सबै होटलहरू बन्द हुने अवस्थामा पुगेको बताए ।

उनका अनुसार जेनियल होटल आफ्नै जमिनमा बनेको घरमा थियो । तर धेरै होटलहरू भाडामा लिएर सञ्चालन भएका छन् । तीनीहरूको भाडा, बैंकको ब्याज, स्टाफको तलब चार महिनादेखि ऋणात्मक छ । उनले भने, ‘न सरकार होटल चलाउन दिन्छ न त राहत नै दिन्छ ।’

आफूहरूले पटकपटक प्रदेश सरकारका मुख्यमन्त्री, महानगरपालिकाका मेयरलाई होटल सञ्चालनको वातावरण बनाऊ या त राहत देऊ भनेर मागपत्र पेश गरेपनि कुनै सुनुवाई नभएको उनले बताए ।

श्रेष्ठका अनुसार पर्यटक बस्न लायक होटलहरू प्रदेश १ मा एक हजार छन् । त्यसैगरी साना तथा मझौला ३००० होटल छन् । जसमा ६० हजार कामदार प्रत्यक्ष जोडिएका छन् ।

इटहरी होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुली सबै होटल सञ्चालकहरू सडकमा आउने अवस्था रहेको बताउँछन् । असार मसान्तमा बैंकहरूले सावा र ब्याज तिर्न ताकेता गरिरहेकाले अहिले सबै व्यवसायीहरू मानसिक तनावमा छन् ।

सरकारले पर्यटन क्षेत्रलाई जोगाउन कुनै कार्यक्रम नल्याएकोमा निराश बनेका व्यवसायीहरूलाई बैंकको ताकेताले थप संकटमा पारेको उनले बताए । उनका अनुसार सरकारले होटल व्यवसायलाई जोगाउन आर्थिक प्याकेज नल्याएमा बैंकहरूले सम्पत्ति लिलाम गर्न थाल्ने अवस्था आएको छ ।

इटहरीमा चार सय होटलहरू छन् । पूर्वमै पहिलो पा“च तारे होटल बन्ने होडमा अगाडि रहेको होटल गरिमा सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेर पनि सञ्चालन हुन नसकेको पराजुलीले जानकारी दिए ।

झापाको बिर्तामोडमा रहेको टाइमलेस मोमेन्टका सञ्चालक जितेन्द्र बस्नेत झापामा रहेका १५०० होटलहरू बन्द हुने अवस्थामा पगेको बताउँछन् । बैंकको ब्याज तिर्ने कुरा पनि अलिक पछि धकेलिदिए होटल ब्यवसायीलाई ठूलो राहत हुने उनले बताए ।

२२ वर्षअघि पूर्वकै व्यवसायी घराना सिटौला परिवारको लगानी रहेको ४८ कोठे होटल जेनियल बन्द भएको छ । होटल बिक्री गर्ने, भाडामा दिने वा कोरोनाको कहरपछि सञ्चालन गर्ने भन्ने तीन विकल्पमा निर्णय गर्न बाँकी रहेपनि होटल पूर्णरूपमा बन्द गरिएको सञ्चालक हरिभक्त सिटौलाले जानकारी दिए ।

कोरोनाको कारण लकडाउन भएपछि ११ चैतबाट नै होटल बन्द रहेको र मासिक १५ लाख रुपैयाँ सञ्चालन खर्च व्यहोरिरहेको उल्लेख गरे । उनले भने, ‘कोरोनाको कहर सुस्त हुन एक डेढ वर्ष लाग्छ त्यति बेलासम्म धान्ने अवस्था रहेन, त्यसैले असार १ गतेबाट होटल बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

Loading...