धान जोनका कृषकलाई १ करोड ५० लाखको कृषि उपकरण

विराटनगर, २८ असार । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ सुनसरीले धान जोन कार्यक्रममा आवद्ध किसान र समूहलाई १ करोड ५० लाख बराबरको कृषि यन्त्र तथा वितरण गरेको छ । उपकरणका लागि किसानहरूको ७५ लाख र ७५ लाख परियोजनाले ब्यहोरेको छ ।

५० प्रतिशत अनुदानमा धान खेती प्रबिधिमा प्रयोग हुने ट्रयाक्टर ६ थान, डिक्स हेर्रो ६ वटा, कम्बाइन हार्रबेस्टर १ वटा, कल्टिभेटर ६ वटा, रोटाभेटर ४ थान, जिरोभेटर २ वटा, केजव्हिल ५ सेट, थ्रेसर एक थान वितरण गरेको हो ।

धान खेतीका लागि चाहिने मेसिन उपकरणहरू वितरणको क्रममा ६ वटा कष्टम हायरिंग केन्द्र स्थापनाका आवेदनमध्ये फिल्ड निरीक्षण गरी आवश्यकता र मूल्याकंनको आधारमा ३ वटा समूह तथा सहकारीलाई जोन सञ्चालक समितिको निर्णयअनुसार अनुदान उपलब्ध गराएको परियोजना इकाइका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले जानकारी दिए ।

जयकिसान कृषक समूह गढी गाउँपालिका ३ का अध्यक्ष पिताम्बर यादव, रामजानकी कृषक समूह दुहबी नपा ११, तनमुनाका अध्यक्ष हेमनारायण चौधरी, चन्द्रोदय कृषि सहकारी सस्था लि, गढी ३, छिटाहाका सुरेन्द्र मेहतालाई मेसिन तथा उपकरणहरू हस्तान्तरण गरिएको हो ।

नेपालको प्रमुख खाद्यान्न बाली धान हो । धान उत्पादनमा बृद्धि गरी उत्पादकत्व बढाउन र कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन धान जोनको अवधारणा आएको हो ।

खेतीमा आधुनिकीकरण तथा यान्त्रीकरणमार्फत उत्पादनमा जोड दिने र किसानहरूको उत्पादनको मूल्य सुनिश्चित भएमा युवा शक्तिलाई खेतबारीमा फर्काउने सकिने भएकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले थप रोजगारीसमेत सिर्जना गरिरहेको पोखरेलले बताए ।

कोरोनाको कारण वैदेशिक रोजगारीमा गएका र रोजगारी गुमाएर फर्किएका १२ जनालाई यस कार्यक्रमअन्तर्गत रोजगार बनाइने छ । समूह, सहकारीदेखि बाहेकका कृषकलाई पनि प्रत्यक्ष फाइदा र सहुलियतमा खेती गर्न नेपाल सरकारबाट अनुदान प्राप्त मेसिनहरूले सहयोग पु¥याउने दुहवीका मेयर वेदनारायण गच्छदारले बताए ।

Loading...