सिन्धुपाल्चोक पहिरो : २० जना अझै भेटिएनन्

चौतारा, २७ असार । बुधबार राति अबिलर वर्षासँगै आएको पहिरोमा बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बाढीपहिरोले बेपत्ता भएका २० जना अझै नभेटिएका हुन ।

लगातारको वर्षाले बेपत्ताको खोजीकार्यमा कठिनाइ भइरहेको छ । २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । तर २० जना अझै भेटिएका छैनन् ।

बाढी र पहिरोका कारण जम्बुमा ३० परिवार बिस्थापित भएका छन् । उनीहरुका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइएको उनले बताए ।

शुक्रबार बिहान भोटेकोशी गाउँपालिकाको लार्चाबाट बेपत्ता भएका स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने प्रयास भइरहेको छ ।

बाढीले कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले सडक डिभिजन कार्यालय दोलखाका डिभीजन इञ्जीनियर विजयकुमार महतोले जानकारी दिए । रासस

Loading...