कोरोनाका कारण थप तीनजनाको मृत्यु, ज्यान गुमाउनको संख्या ३८ पुग्यो

विराटनगर, २७ असार । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३८ पुगेको छ । थप ३ जनाको उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण १६ असारमा पाटन अस्पताल भर्ना भएका थिए । ती पुरुषमा १७ असारमा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृगौलाका विरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको हो । १८ असारमा क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ असारमा कोरोना पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको डाक्टर गौतमले बताए ।

शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।

Loading...