प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा विराटनगरका एकजना पक्राउ

विराटनगर, २७ असार । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ बाट ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको हो ।

मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको प्रहरीको दाबि छ ।

मरिच र मटर भारततर्फ र रजनीगन्धाको नेपालतर्फ तस्करी हुने गरेको छ । मण्डलविरुद्ध प्रहरीले केही दिन अघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो ।

फरार रहेका मण्डललाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेत्रृत्वको टोलीले शुक्रबारराति पक्राउ गरेको हो ।

मण्डलले तस्करी नियन्त्रण खटिएका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने र जागिरसमेत खाइदिने भन्दै धम्की दिदै आएका थिए ।

प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा १४ असारमा विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको मटर बरामद गरेको थियो ।

प्रहरीले त्यतिबेला एक लाख ९५ हजार मूल्य बढीको दुई हजार चार सय २५ किलो मटर र मटर लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मटर तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ ।

सोही रात मटर बरामद गरेको स्थान नजिकै सडकबाट प्रहरीले को १४ प ६८७४ नम्बरको मोटरसाइकल बेबारिसे अवस्थामा फेला पारेको थियो । मोटरसाइकल मण्डलकै रहेको खुलेको छ ।

तस्करी गर्दै गर्दा मटर नियन्त्रणमा लिइएको थाहा पाएर मोटरसाइकल बाटैमा छाडेर उनी फरार बनेको प्रहरीले बताएको छ ।

अनुसन्धानका लागि ल्याएको मोटरसाइकल मण्डलले १८ असार राति साँझ जवरजस्ती इलाका प्रहरी कार्यालय रानीबाट निकालेर लैजान खाेज्दा प्रहरी माथि दुर्व्यवहार गरेका थिए ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सीमा क्षेत्रबाट हुने अवैध धन्दा निमिट्यान्न पार्ने हिसाबमा प्रहरी काम कारबाही अघि बढाइएको जानकारी दिए ।

Loading...