म, मन्दिरा मधुश्री

मेरो नाउँ मन्दिरा मधुश्री । मेरो जन्म प्रदेश नम्बर एकमा रहेको सुन्दर भोजपुर जिल्लाको महादेवस्थान गाविस वार्ड नम्बर एक मुलाबारीमा भएको हो हाल भोजपुर न पा वार्ड नं ११ मा आमा डम्बर कुमारी कोइराला र बुवा गणेश प्रसाद कोइरालाको छ जनामा पाँचौ सन्तानको रूपमा जन्मेँ मेरा तीन दाजु एक दिदी र एक बहिनी हुनुहुन्छ ।

मेरो जन्म, शिक्षित र प्रतिष्ठित परिवारमा नै भएको थियो । म जन्मदै बुवा जागिरे हुनुहुन्थ्यो । त्यसैले भौतिक रूपमा सबै सुख सुविधा थियो । हरेक व्यक्तिका भिन्दाभिन्दै संघर्ष हुन्छन् १ बाल्यकालमै मेरो संघर्ष भने अलिक फरक खालको रह्यो ।

बाल्यकाल मेरो साच्चिकै कहालिलाग्दो, दर्दनाक र सङ्घर्षमय भएर नै बित्यो । यो संघर्ष आफैँमा भयो । एक्लै संघर्ष गरिरहेँ वर्षौँसम्म । बाल्यकाल अझ भनौ शैशव कालमै जिन्दगीको कठघरामा उभिएर मृत्युसँग पौठेजोरी खेल्दै कठिन परीक्षा दिनुपरेको थियो मैले । दुई वर्षको अबोध शिशुमाथि जिन्दगीले यति कठोरतापूर्वक परीक्षा लियो नि त्यसको परीणाम त्यो बेला मात्रै होइन अहिले पनि भोगिरहेको छु ।

जब म दुई वर्षकी भएँ एउटा अकल्पनीय र कहालिलाग्दो दुर्घटनाको कहर भोग्नुपर्योण मैले । आगोमा परेर अधिकांश शरीर जलेको थियो । मेरो क्षत बिक्षत शरीर, अनुहार, टाउको देखेपछि सबैले मेरो उपचारको पहल होइन मृत्युको कामना गरेका थिए रे बाँच्ने सम्भावना नदेखेर । मेरि आमाले सहित मुटुमा ढुङ्गा राखेर अग्रजको आदेश मानेर मेरो मृत्युको दिन गनेर बस्नुभएछ । तर दैवको खटनमा मान्छेको निर्णय कहाँ हुन्छ र रु छैटौ दिनसम्म मेरो ढुकढुकी चलिरहेपछि अनि पोलेको कुहेको मासुको दुर्गन्ध बढेपछि आमाको मातृहृदयले सहन सकेनछ । अनि एक चम्चा पानी पिलाएर मेरो मृत्यु होइन जीवनको कामना गरेर उपचार गर्न थाल्नुभएको रे । लगातार तीन चारवर्ष केराको पातमा सुताएर सेवा गर्नुभयो रे आमाले । यसरी मृत्युसङ्ग पौठेजोरी खेल्दै, पछि मैले मृत्युलाई पराजित गरेँ । त्यसपछि मात्रै जीवनले लय लिन थाल्यो ।

अत्यन्तै ठूलो शारीरिक संघर्षबाट मुक्त भए पनि त्यसपछि शुरु भयो मेरो मानसिक संघर्ष । जब आफ्नो परिवार, समाज, गाउँ र समकक्षीबाट बाहिर निस्केँ कुनै फरक ग्रहको प्राणी अझ भनौ एलियन जस्तै पो बन्न पुगेँ म त । आफ्नै समवयी र समकक्षीहरुको उपेक्षा, तिरस्कार र हाँसोको पात्र बन्दै गएँ पटकपटक । हो त्यही बाल्यकालदेखि नै फरक भएर बाच्नुको नमीठो अनुभूतिलाई बोकेर समकक्षीहरूसँग समानान्तर रूपमा उभ्याइरहेकी छु आफैँलाई ।

सायद छ वर्षको उमेरमा होला श्यामशीला डाँडामा रहेको राधाकृष्ण प्राथमिक विद्यालयबाट मेरो अक्षरारम्भ भएको थियो । घरबाट निस्केर ठाडै उकालो आधा घन्टा पातालको जङ्गल छिचोलेर मात्रै स्कुल पुगिन्थ्यो । तीन कक्षा मात्रै पढाई हुने जम्मा तीन कोठाको मात्रै थियो विद्यालय । एउटामा अफिस कोठा थियो । अर्को एउटामा एक कक्षाको पढाई हुन्थ्यो । अनि अर्को एउटामा आधामा दुई क्लास र आधामा तीन क्लासको पढाई हुन्थ्यो । कक्षा कोठामा झ्यालका पल्ला थिएनन् । ढोकाका खापा थिएनन् १ न त बेन्च डेस्क नै । काठको तखता इट्टामाथि राखेर त्यसैमाथि बसेर कपुरी क खरायो ख भट्याएको हो । चार कक्षामा आइ यस इज इज माने छ भनेर अङ्ग्रेजी पढ्न थालेको अझै याद छ अझै ।

सात पास भएपछि म सुनसरिको खनारमा रहेको शारदा माध्यमिक बिद्यालयमा आठ, नौ, दस पढेँ । जनता बहुमुखी क्याम्पस इटहरीमा प्रमाणपत्र तह सकेँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह अनि स्नातकोत्तर क्याम्पस विराटनगरमा स्नातकोत्तर तहको अध्ययन गरेँ । त्यसपछि सुकुना बहुमुखी क्याम्पस बिराट्चोकमा बिएडको अध्ययन गरेँ ।

जागिर र पेशाको कुरा गर्नुपर्दा मेरो स्थाई रूपमा कुनै जागिर भएन न त कुनै पेशा नै भयो । मलाई जिवनमा जागिरको एकदम जरुरत थियो । आफ्नो खुट्टामा उभिनु थियो । तर दुर्भाग्य १ एस।एल।सि। दिएदेखि जागिरमा लडेँ । तर कतै स्थायी जागीर भएन । पढाइ सकेपछि एच।आइभिको एड्सको यक्षेत्रमा काम गर्ने संस्था ‘सामुदायिक सेवा केन्द्र’ इटहरीमा कार्यक्रम सम्योजक भएर काम गरेँ । पत्रकारिता पढेर पाक्षिक र मासिक पत्रपत्रिकाको सम्पादक भएर पनि काम गरेँ । रेडियोमा बोल्ने र कार्यक्रम चलाउने ठूलो रहर थियो । तालिम लिएर पहिलो सामुदायिक महिला एफ। एममा काम शुरु गर्दागर्दै मैले विराटनगर छोड्नुपर्योर । मैले परिवार या जागिर रोज्नुपर्ने भयो । परिवारलाई साथ दिएर म काठमाडौ छिरेँ ६४ सालमा ।

मैले ५६र५७ देखि साहित्य लेख्न थालेँ । ५७ को साउन अंकको मधुपर्कमा (सहरको कथा) छापिएपछि मेरो परिचय देखियो साहित्यको क्षेत्रमा । त्यसपछि गरिमा, अभिव्यक्ति, रचना, समष्टि, मिर्मिरे जस्ता सबैजसो पत्रिकामा कथा गजल, गीत प्रकाशन भए ।

मैले लेख्न थालेको दुई वर्ष भित्र नै मेरा कथा र गजलको पुस्तक तयार थिए । बजारमा चर्चा पनि थियो मेरो । तर पाठकले लेखक नचिनी पुस्तक निकाल्न हतार गर्नुहुन्न भन्ने मान्यता बनाएर लेखिरहेँ । जब बजारमा म मन्दिरा मधुश्री भनेर चिने पाठकले अनि मेरो किताबको माग हुन थाल्यो तब मैले २०७३ मा बुधनको घोडी प्रकाशन गरेँ । सोचेभन्दा बढी चर्चामा आयो बुधनको घोडी ।

त्यसको तीन वर्ष पछि २०७६मा मधुराग गजल सङ्ग्रह प्रकाशन भयो । २०७७ जेठमा अर्को कथा सङ्ग्रह प्रकाशन गर्ने योजना थियो । तर कोभिड १९ को महामारी कारण यो स्थगित भएको छ ।

मैले हालसम्म कन्काई प्रतिभा प्रतिष्ठान सुरुङगा झापाद्वारा उत्कृष्ट कथा विशेषाङ्क पुरस्कार, उत्कृष्ट पुस्तकका लागि पूर्वाञ्चल प्रतिभा प्रतिष्ठान विराटनगरद्वारा षडानन्द प्रतिभा पुरस्कार, ॐ कार्की स्मृति साहित्य पुरस्कार, कविडाँडा राष्ट्रिय कथा प्रतियोगितामा (तेस्रो ) पुरस्कार र नवरङ्ग साहित्य प्रतिष्ठान धरमपुर झापाद्वारा नवरङ्ग नवनारी सम्मान प्राप्त गरेको छु । यी पुरस्कार र सम्मानहरूले मलाई साहित्यमा निरन्तर लागिरहन थप उत्साह प्रदान गरिरहेको छ ।

मैले जम्माजम्मी २ वटा कृतिहरू प्रकाशन गरेको छु । कृति प्रकाशनमा मेरो आफ्नै धारणा रहेको छ । हरेक कृतिले पाठकको न्याय गर्नुपर्छ, उनीहरूले पैसा हालेर पुस्तक किनिसकेपछि त्यसको मूल्य पाउनुपर्छ । लेखकको फोस्रो गन्थन मात्रै समेटिएका पुस्तकहरू समाजका लागि निकम्मा हुन्छन् भन्ने मेरो बुझाइ छ । लेखनको दुईदशकको यात्रामा मैले बुधनको घोडी कथा सङ्ग्रह (२०७३) र मधुराग गजल सङ्ग्रह (२०७६) प्रकाशन गरेको छु । यी पुस्तकहरू सम्बन्धमा मैले पाठकहरूबाट अपेक्षा गरेभन्दा ज्यादा माया पाएको छु ।

साहित्यकर्ममा लाग्दै गर्दा विभिन्न साहित्यिक अभियान र संघसंस्थाहरूमा सहभागी हुने अवसर पनि प्राप्त गरेको छु । जसमध्ये म संस्थापक अध्यक्ष भएर डम्बर कुमारी गणेश साहित्य प्रतिष्ठान र डम्बर कुमारी गणेश आख्यान पुरस्कारको स्थापना गरेको छु । त्यसको अलावा साहित्य संचार समूह इटहरीको आजीवन सदस्य, बनिता त्रैमासिक पत्रिकाको आजीवन सदस्य, नेपाल साहित्य परिषद सदस्य र गुन्जनको आजीवन सदस्य भएको छु ।

म एउटी नारी लेखक, नेपाली समाजमा नारी लेखकले भोग्नुपरेको समस्या र उनीहरूको क्रियाशीलता सम्बन्धमा धेरै वहस हुनु जरुरी छ । निश्चितरूपमा नेपालमा पुरुषको भन्दा नारीको संख्या बढी नै छ जनसंख्याको हिसाबले तर साहित्यमा मात्रै होइन कुनैपनि क्षेत्रमा नारीको पहुँच वा उपस्थितिको संख्या कम नै छ ।

प्रशासन , राजनीति , शैक्षिक संस्था या त अन्य कुनै उच्च स्तरीय कार्यालयमा नै किन नहोस् । यसको मुख्य कारण पित्री सत्तात्मक सामाजिक र पारिवारिक संरचना हो । जसले गर्दा पुरुषले महिलाको क्षमताको मूल्यांकन पनि गर्दैनन् र विश्वास गरेर अवसर दिँदैनन । जुनसुकै क्षेत्रमा ३३ प्रतिशतको नौटङकी गर्छन् र भेटेसम्म १३३ प्रतिशत नै आफैँ सोहोर्न पट्टी लाग्छन् । योग्य र सक्षम भएपनि निर्णयात्मक तहमा महिलालाई राखिँदैन । यो रोग साहित्यमा पनि फैलाएको छ । कहिलेकाहीँ त कुनै कुनै कार्यक्रममा दस जनासम्म पुरुष मंचमा हुन्छन् तर बिडम्बना एकजना महिलाको प्रतिनिधित्व हुन्न ।

अधिकांश महिला साहित्यकारलाई लेख्ने फ्री समय हुँदैन । न त वातावरण नै हुन्छ । महिलालाई अफिसदेखि लिएर घर , परिवार, आफन्त, पाहुना, चुल्हो चौको , छोराछोरी , लगायत अग्रजको रेखदेख सह्यार सुसारको जिम्मेवारी हुन्छ । यी सबै भ्याएर, समय उबारेर या त निन्द्रा चोरेर साहित्य लेख्नुपर्ने बाध्यता हुन्छ । कुनै तनाव बिना स्वतन्त्र र उन्मुक्त भएर धेरै कमले मात्रै लेख्न पाउँछन् ।

पुरुषहरूले बिहानको समयमा प्रायःजसो पत्रपत्रिका पढ्न पाउँछन् । साथीभाइसँग चिया गफ र सिया गफमा साहित्यका विषयवस्तुमा छ्लफल गर्छन् । टीका टिप्पणी गर्छन् ।सुझाव आदानप्रदान गर्छन् । अनि अब्बल लेख्छन् । तर अधिकांश महिलाले यसरी छलफल गरेर लेख्ने वातावरण नै पाउँदैनन् । अर्कोकुरा महिलाहरूमा अलिकति डाहा र अन्तर्मुखी भावना हुन्छ । आफूले लेखेको पुरुषलेजस्तो साथीहरूसँग छलफल गर्दैनन् । हुन त पुरुषहरूकोजस्तो साथीहरूको ग्रुप पनि त्यति हुँदैन । भए पनि साहित्यको छलफल कमै हुन्छ । यसबाट पनि महिलाहरू पछि पर्छन् ।

कुनै पुरुष लेखक छ भने उसलाई लेख्नको लागि परिवारका सबै सदस्यले आफ्नो आफ्नो प्रकारले सहयोग गर्छन् र वातावरण मिलाइदिन्छ्न् । कोठामा चुकुल लाएर लेख्न बस्छ महिनौँसम्म पनि । उसको लागि चुरोट, चिया, नास्ता सबैको तैनाथ डिउटीमा महिला हुन्छन् । धन्न कालिदासको जस्तो कुपिमा तेल थप्न चाहिँ जाग्राम बस्नुपर्दैन अहिले । घरमा लेख्ने वातावरण भएन भने बाहिर रिसोर्टमा गएर बस्छन् । होम्स्टेमा बसेर लेखेर फर्कन्छ्न् । तर महिला लेखक ( साहित्यकार) छन् भने यस्तो वातावरण प्रायः नै मिल्दैन । छोराछोरीले भोक लाग्यो भने आमा गुहार्छ्न् । श्रीमानलाई चिया खान मन लागे श्रीमती नै गुहार्छ्न् ।(आफैँ पकाएर खाउँ ऊ लेख्दैछे) भन्दैनन् । घर फोहोर भयो भने महिलाकै थाप्लोमा दोष आइलाग्छ ।

आजभोलि रिसर्च बेसमा लेख्ने प्रवृत्ति छ । यसरी लेख्दा अब्बल बन्छ साहित्य । तर महिला घर छोडेर महिनौं बाहिर बसेर लेख्न जानै पाउँदैनन् ।उता पुरुषलाई भने प्रकाशकले नै अग्रिम पैसा दिएर लेख्न लगाउछ्न् । पठाउँछ्न् ।

एउटा पुरुष लेखक छ भने उसको प्रहिलो पाठक उसकी श्रीमती हुन्छे । अनि छोराछोरी हुन्छन् । परिवारले चासो राख्छन् । सायदै कुनै महिला लेखकको कुनैपनि रचनाको प्रहिलो पाठक उसको श्रीमान र छोराछोरी हुन्छन् । (केही अपवाद बाहेक ) । उसको रचनाको प्रतिक्रिया र सुझाव पाइन्न । हरेक उपायले लेखे पनि प्रकाशनको पहल हुन्न । अनि वर्षौसम्म पनि डायरीमा थन्केर बसेको हुन्छ ।

यी विभिन्न बाधा व्यवधानका वावजुद पनि महिलाले लेख्छन् । एउटा किताब लेख्न महिलालाई वर्षौं पनि लाग्छ । उनीहरूले उनीहरूले जति अब्बल लेखेपनि प्रकाशकले पत्याउदैनन् । महिलाले लेखेको भन्ने बित्तिकै उसले नाक खुम्च्याउँछ ।

त्यसपछि कुनै प्रक्रियाले छापिए पछि पाठकले पनि विश्वास गर्दैन । महिला लेखन क्षमतामाथि नै शंका गर्छन् । (उसले लेखेको हो कि होइन के थाहा, श्रीमानले वा त अरु कसैले लेखिदिएको होला) भन्छन् । स्वयं म आफूले नै सुनेको भोगेको कुरा हो यो ।

अर्को कुरा पुस्तक निस्किसकेपछी पनि महिलाहरुलाई प्रोत्साहन पनि कमै हुन्छ । समालोचकले पत्याउँदैनन् । पत्रकारले वास्ता गर्दैनन् । अधिकांश महिला लेखकहरु श्रीमानकै कमाईमा आश्रित छन् ।उनीहरूले खर्च गरेर पत्रकार र समालोचकलाई खुवाउन सक्दैनन् । त्यसले प्रचारप्रसार हुन्न उनीहरूको किताब । एउटा किताब निस्क्यो भने पुरुष लेखक देशभर र अझ विदेशसम्म नै पुगेर अन्तर्कृया गर्छ । प्रचारप्रसार र चर्चा परिचर्चा गर्छ । तर महिलाको कनिकुथी विमोचनसम्म हुन्छ त्यसपछि चुपचाप पुरुषकोभन्दा अब्बल भए पनि बजारमा महिलाको किताब खोजिन्न । थाहै हुन्न धेरैलाई । हल्ला र चर्चा भएकै किताब खोज्छ पाठकले । र त्यो भाग्यमानी किताब पुरुषकै हुन्छ ।

महिला साहित्यकार कम हुनुको पछिल्तिर हाम्रो सामाजिक संस्कार र शैक्षिक चेत पनि पनि उत्तिकै जवाफदेही छ । हाम्रा आमा पुस्ताहरुले पढ्ने वातावरण पाउनुभएन । स्कुल पाठशाला, गुरुकुलमा छोराहरूलाई मात्रै पढ्न पठाउने संस्कार थियो । छोरीहरू पढे पोइला जान्छन् भन्ने रुढीवादी मान्यता थियो । त्यसैले पढ्दै नपढेका आमाहरुले कसरी पो लेख्न सक्नु र रु तर त्यो बेलामा पनि केही भाग्यमानी आमाहरूले अध्यनको अवसर र मौका पाउनुभको छ । उहाँहरुले प्रायः लेख्नुभएको छ । त्यसबेला अक्षर चिनेका कसैले स्वध्यायन गरेर पनि साहित्यमा प्रतिस्पर्धा गर्नुभएको छ पुरुष साहित्यकारहरुसङ्ग । यो कम सानो कुरो होइन ।

तर अहिले (मेरो समकालीनसम्म) ‘हामी’ पुस्ताले पढ्ने अवसर पाए पनि अधिकांशको अग्रंजी भाषामा कम दखल छ । नेपाली माद्यमको पढाइ भएकोले । अनि यिनीहरूले पनि विश्व साहित्य अध्यन गर्न सक्दैनन् । त्यसले गर्दा पनि उनीहरुको लेखनमा तुलनात्मक रुपमा कमी हुन गएको हुनसक्छ । यी सम्पूर्ण कारणले गर्दा महिला साहित्यकार कम छन् । तर जे जति छन् तिनीहरू पनि पुरुषको भन्दा कम चाहिँ छैनन् ।

Loading...