विराटनगर, २६ असार । मनसुन सुरु भएसँगै १ नम्बर प्रदेश सरकारले सम्भावित जोखिममा नियन्त्रण र उद्दारका लागि पूर्वतयारीमा बस्न निर्देशन दिएको छ ।
बिहीबारबाट देशभरका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । प्रदेश १ मा सम्भावित जोखिमको क्षति नियन्त्रणका लागि सरकारले पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको हो ।
प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीका अनुसार सबै जिल्लाका नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजक हुन र आवश्यक पूर्व तयारी गर्न जिल्ला विपद व्यावस्थापन समितिहरूलाई निर्देशन दिएको हो ।
उनले स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका लागि स्थानीय तहहरूलाई निर्देशन दिइएको बताएका छन् ।
उद्दार सामाग्री र जनशक्ति तयारी अवस्थामा
वर्षासँगै आउने बाढी र डुवानबाट हुनसक्ने सम्भावित क्षति नियन्त्रणका लागि मोरङमा उद्दार सामाग्री र जनशक्ति तयारी अवस्थामा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
उनका अनुसार सम्भावित बाढीबाट हुनसक्ने क्षति नियन्त्रणका लागि प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
बिहीबार जिल्ला विपद व्यावस्थापन समितिको बैठक बसी आवश्यक जनशक्ति सामाग्री व्यवस्थापन गरी दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताए ।