पोखरामा पहिरोका कारण चारजनाको मृत्यु, नौ घाइते

कास्की, २६ असार । पोखराका विभिन्न स्थानमा गए राति गएको पहिरोका कारण चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

उनीहरूको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

Loading...