रियललाई बार्सिलोनाविरुद्ध चार अंकको अग्रता बनाउने अवसर

एजेन्सी, २६ असार । स्पेनिस ला लिगामा उपाधि दाबेदार रियल मड्रिडले आज आफ्नो ३५औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यस खेलमा रियलले अलाभेससँग खेल्नेछ ।

यो खेल रियलको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । जसमा, रियललाई साविकको विजेता बार्सिलोनाविरुद्ध चार अंकको अग्रता बनाउने अवसर रहेको छ ।

हाल रियल ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ऊ बार्सिलोनाभन्दा एक अंकले अगाडि रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले रियलभन्दा एक खेल बढी खेल्दै ७६ अंक बनाएको छ ।

अब, रियलले आज अलाभेसलाई हराएको खण्डमा ८० अंक बनाउँदै उपाधि होडमा थप बलियो बन्नेछ ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला सात खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने आठमध्ये पाँच खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

यता, रियलको आजको प्रतिद्वन्द्वी अलाभेस भने ३६ अंकका साथ १७औं स्थानमा रहेको छ । आज ऊ रियलमाथि जित निकाल्दै १५औं स्थानतर्फ अगाडि बढ्ने दाउमा छ ।

Loading...