म्याग्दीमा पहिरोः दुई परिवारका सातजना बेपत्ता

बेनी, २६ असार । अबिरल वर्षासँगै आएको पहिरोका कारण म्याग्दीमा दुई परिवारका सातजना बेपत्ता भएका छन । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा दुई परिवारका सात जना बेपत्ता भएका हुन ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको हो । उनका अनुसार भीमप्रसादको घरका चार र धनबहादुरको घरका चारजना बेपत्ता भएका हुन ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए ।

माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले बताए ।

मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए ।

बेलिब्रिज बग्यो

रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले नदीको कटानका कारण बेलिब्रिज भत्किएको बताए ।

सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । रासस

Loading...