चार दिन भारी वर्षा : सरकार ‘हाई अलर्ट’मा, सतर्क रहन अनुरोध

काठमाडौं, २५ असार । मुलुकभर आजदेखि भारी वर्षा सुरु भएको छ । यो क्रम आइतबारसम्म रहनेछ ।

चार दिन लगातार भारी वर्षाभई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पूर्वानुमान गरिएसँगै सरकारले उच्च सावधानी अपनाएको छ ।

राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकाय तत्कालै परिचालन गर्नसक्ने गरी सरकारले उच्च तयारी गरेको छ ।

आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ । गृहमन्त्रालयका अनुसार तत्कालै परिचालन हुने गरी संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

विपद् व्यवस्थापनकै सम्बन्धमा आज गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिएका छन ।

घटना घट्नासाथ तुरुन्तै परिचालन हुनेगरी तयारीमा रहनसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका हुन ।

गृहसचिव महेश्वर न्यौपानेले विपदबाट जोखिम कम गर्न उद्धार र राहत व्यवस्थापनमा आवश्यक तयारी गरिएको र मातहतका निकायलाई तयारीमा रहन भनिसकेको जानकारी दिए ।

मौसमविद्का अनुसार आजदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुनेछ ।

प्रदेश नं १, २ बागमती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ । विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यो चारदिन कष्ट सहेरै पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाइ अपिल गरे । रासस

Loading...