मर्ने कसैलाई रहर हुँदैन

राकेश कर्ण
भनिन्छ, ‘मर्ने कसैलाई रहर हुँदैन’ । तर आत्महत्या गरेर ज्यान गुमाउनेहरूका लागि यो पङ्क्ति कत्तिको उचित होला त ? हुनतः आत्महत्या गर्ने व्यक्तिलाई नेपालको कानूनले अपराधी ठान्छ, धर्मशास्त्रले पापी भन्छ र समाजले पनि पानी मरुवा, लाछीको उपमा दिन्छ । तर उनीहरूको वास्तविक कथा, पीडा, रहस्य र यर्थात बुझ्ने प्रयास कसैले गर्दैन । त्यो उनीहरूको जीवनसँगै विलिन भएर जाने गर्दछ ।

मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । यद्यपि, किन व्यक्तिहरूले आत्महत्या गरेर आफ्नो ज्यान आफैँ समाप्त पार्छन् त ? यस्तो अवस्थामा पुग्दा उसले पक्कै पनि आफ्नो जीवनका सबै आशाका ढोकाहरू बन्द भएको तथा अरु कुनैपनि विकल्पहरू नभेटिएर चरम निराशामा डुबेको हुनुपर्दछ । यो सबैले बुझ्न जरुरी छ । तर कतै न कतै हाम्रो समाजमा यो सबैले बुझेका छैनन् ।

फलस्वरुप दिनप्रतिदिन आत्महत्याका घटनाहरू श्रृङ्खलाबद्ध रूपमा उकालो लाग्दै गइरहेका छन् । झन् कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर जारी लकडाउनमा त आत्महत्याका घटनाहरू दोब्बर भएका छन् । लम्बिँदै गएको लकडाउनसँगै प्रदेश नं. १ का अधिकांश जिल्लाहरूमा आत्महत्याका घटनाहरूमा पनि एक्कासी बढेका छन् । समयमै उचित उपचार र हेरचाहको अभावमा दिनप्रतिदिन यो समस्या झनै जटिल बन्दै गइरहेको छ ।

नेपालमा ११ चैत्रदेखि जारी गरिएको लकडाउन हाल मोडालिटी परिवर्तन गरेर भएपनि जारी नै छ । आर्थिक तथा मानसिक तवरले आम नागरिकको जनजीवनमा प्रत्यक्ष असर पुर्‍याएको यही लकडाउन अधिकांश मानिसहरूको आत्महत्याको रहस्यमयी कारण पनि बन्न पुगेको छ ।

लकडाउन अवधिभरको तथ्यांकलाई मात्रै पनि हेर्ने हो भने विगतको सामान्य अवस्थाभन्दा यस अवधिमा मुलुकभरि नै आत्महत्याका घटनाहरू प्रशस्त बढेको देखिन्छ । प्रदेश नं. १ मा पनि सामान्य अवस्थाभन्दा लकडाउन अवधिमा आत्महत्याका घटनाको अनुपात ह्वात्तै बढेको छ ।
११ चैत्रदेखि २० असारसम्मको लकडाउन अवधिलाई मात्रै पनि हेर्ने हो भने प्रदेशभरि कुल ४ सय ३९ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सामान्य अवस्थाको तुलनामा यो सङ्ख्या दोब्बर हो । लकडाउन जारी भएदेखि २० असारसम्मको अवधिमा प्रदेश नं. १ को इलाममा ३९, उदयपुरमा २८, ओखलढुङगामा १६, खोटाङमा १९, झापामा ८१, ताप्लेजुङ्गमा १४, तेह्रथुममा १६, धनकुटामा १५, पाँचथरमा १६, भोजपुरमा १६, मोरङमा ८९, सङ्खुवासभामा १४, सुनसरीमा ५९ र सोलुखुम्बुमा १६ जनाले आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेहरूमा २ सय ३२ जना पुरुष, १ सय ४८ जना महिला, ३८ जना बालिका र २१ जना बालक रहेका छन् । यसमा कसैले झुण्डिएर, कसैले धारिलो औजारको प्रयोग गरेर, कसैले बिष खाएर, कसैले आगो लगाएर भने कसैले हाम्फालेर आत्महत्या गरेका छन् । प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयको तथ्यांक केलाउँदा सबैभन्दा बढी ३ सय ७८ जनाले झुण्डिएर नै आत्महत्या गरेको पाइएको छ ।

यसरी हाल प्रदेश नं. १ मा दैनिक सरदर ६ वटा आत्महत्याको घटना हुने गरेको प्रदेश १ प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले बताए । माथिका उल्लेखित आत्महत्याका केशहरू प्रतिनिधिमूलक घटना मात्रै हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा प्रदेशभरि भने कुल १ हजार २ सय ९० जनाले आत्महत्या गरेको प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

कार्यालयका अनुसार प्रदेश नं. १ मा सामान्य अवस्थामा दैनिक ३ वटा आत्महत्याको घटना हुने गरेको थियो । तर हाल आएर उक्त संख्या दोब्बर भएको छ । लकडाउन अवद्यिमा आत्महत्या गर्नेको संख्या बढेर ६ पुगेको प्रहरी प्रवक्ता पोखरेलको भनाइ छ ।

आत्महत्या नेपालमा पनि एउटा ठूलो चुनौतीका रूपमा देखा पर्दै गएको छ । नेपालमा पनि आत्महत्या गर्नेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ । श्रोतका अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्छन् भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछन् ।

यसरी हेर्दा प्रत्येक वर्ष सरदर ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो सङ्ख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना र महामारी लगायतका कारणहरूबाट हुने मृत्युको सङ्ख्याभन्दा निकै नै बढी हो ।

समयमै नशा तथा मानसिक रोग विशेषज्ञको सल्लाहबमोजिम निश्चित समयसम्म नियमित औषधि सेवन गरे आत्महत्याको श्रृङ्खलालाई सजिलै रोक्न सकिने विज्ञहरूको तर्क छ । यद्यपि, यसो हुन नसक्दा समाजमा आत्महत्याको क्रम नियन्त्रण बाहिर गएको छ ।

भनिन्छ, चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसहरूले आत्महत्याको बाटो अँगाल्छन् । तर कारण यत्तिमा मात्र सीमित छैन । एउटा हाँस्दै खेल्दै गरेको जीवनलाई मानिसले यत्तिकै आत्महत्याको मुखसम्म लग्दैन । विभिन्न बाध्यात्मक परिस्थिति एवम् कारणले मानिसलाई स्वयंमको ज्यान लिन प्रेरित गरिरहेको हुन्छ ।

मानिसले विभिन्न कारणले आत्महत्या गर्छन् । त्यसमध्ये पनि ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ । त्यसमा पनि अधिकांश व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा दिक्दारीपन अर्थात् डिप्रेशन नै हुने गर्दछ । बाँकी ५ प्रतिशत व्यक्तिहरूले भने क्षणिक आवेगमा निर्णयशक्ति गुमाएर आत्महत्या वा आत्महत्याको प्रयास गर्ने गर्दछन् । यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।

अन्य समयको तुलनामा लकडाउन अवद्यिमा आत्महत्याको दर बढ्नुको मुख्य कारण आम नागरिकको कमजोर क्रयशक्तिलाई पनि लिइएको छ । लकडाउनका कारण आम नागरिकको आर्थिक पक्ष कमजोर भएपछि यसले आत्महत्याको समस्या निम्त्यिाएको कोशी अस्पताल विराटनगरका मानसिक रोग विशेषज्ञ डाक्टर नितेशराज भण्डारी बताउँछन् ।

कोरोना भाइरसको प्रकोपका कारण आम नागरिकको जनजीवन कष्टगर बनेसँगै घरपरिवार कसरी चलाउने भन्ने मानसिक तनाव, रोजगारी गुम्ने डर र शून्य पारिवारिक आयश्रोत जस्ता आदि इत्यादि कारणले आत्महत्याको ग्राफ ह्वात्तै उकालो लागेको उनकाे भनाइ छ ।

त्यस्तै पछिल्लो समय कोरानाको त्राससँगै लकडाउन अवधिमा गम्भीर मानसिक रोग भएका व्यक्तिहरूले पनि बजारमा सहजै औषधि पाउन सकेका छैनन् । जसकारण नियमित औषधि सेवनमा कठिनाई उत्पन्न भएपछि त्यसले थप चुनौती थपेको छ । कतिपय आत्महत्याका घटनाहरू औषधिकै अभावमा पनि हुने गरेको डा.भण्डारीको तर्क छ ।

डाक्टर भण्डारी भन्छन्, ‘आत्महत्या मानसिक रोगसँग प्रत्यक्ष जोडिएको विषय हो । मानसिक रोग कुनै लाजमर्दो रोग होइन । यो एउटा मधुमेह र मुटुरोग जस्तै शारीरिक एवं नशासँग सम्बन्धित रोग हो ।’

समयमै नजिकको नशा तथा मानसिक रोग विशेषज्ञको सल्लाहबमोजिमको उचित उपचारबाट यो समस्या समाधान हुन्छ । समयमै घरपरिवार, इष्टमित्र तथा विशेषज्ञको परामर्श पाएमा आत्महत्याको जोखिम र दरलाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । तर समयमै ध्यान नपुर्‍याए यो समस्या झनै जटिल बन्दै जान्छ । आत्महत्या गर्नुअघि व्यक्तिहरुले विभिन्न किसिमका लक्षण तथा संकेतहरू व्यक्त गर्ने गर्दछन् ।

यस्तो अवस्थामा उनीहरूमा विशेषगरी दिक्दारीपन, मानसिक असन्तुलन, मेनिया, सोमाटो फर्म डिसअर्डर, मनोत्रास र विकृत तनावलगायतका लक्षण एवम् संकेतहरू देखा पर्ने गर्दछन् । नरमाइलो लाग्ने, शरीरमा शक्ति छैन जस्तो महशुस हुने, थकाइ बढी लाग्ने, निद्रा नलाग्ने अथवा निद्रा बढी लाग्ने, भोजन मीठो नलाग्ने, शारीरिक तौल घट्ने, एकान्त मन पराउने, रुन मन लाग्ने र चाँडै रिस उठ्नेलगायतका लक्षणहरू देखा परे तुरुन्तै चिकित्सकीय सल्लाह लिनुपर्ने नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका स्नायु तथा मानसिक रोग विशेषज्ञ डाक्टर मुक्ति आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘समयमै मानसिक रोग विशेषज्ञको सल्लाहबमोजिमको नियमित औषधि सेवनले यो समस्या समाधान हुन्छ । सबै किसिमको रोगमा लामो समयसम्म औषधि खानुपर्दैन । मानसिक रोगीहरूलाई निश्चित समयका लागि औषधि खुवाइन्छ र मानसिक तवरले पूर्ण रूपमा स्वस्थ भएपछि क्रमागत रूपमा औषधिको मात्रा घटाइन्छ ।’

नेपाली समाजमा भने मानसिक रोगीलाई मनोचिकित्सकलाई नदेखाएर धामी झाँक्रीलाई देखाउने प्रचलन अझै पनि विद्यमान छ । यस किसिमका रोग लामा, झाँक्री र पूजाबाट कदापि ठीक हुँदैन । यसप्रकारका रोग उपचारबाट मात्र ठीक हुन्छ । वर्तमान परिस्थितिमा यो सबैले बुझ्न एकदमै जरुरी देखिन्छ । साथै आत्महत्या कसैको व्यक्तिगत कमजोरी नभएर अणुवांशिक, मनोवैज्ञानिक, सामाजिक तथा साँस्कृतिक तत्वहरूको संयुक्त नकारात्मक प्रभावका कारण हुने गर्दछ ।

आत्महत्याको प्रयास वास्तवमा मानवीय सहनशीलताको सीमा पार गरेको एउटा चरण र सहयोगका लागि चित्कार पनि हो । त्यसैले त भनिन्छ, ‘मर्ने कसैलाई रहर हुँदैन’ ।

Loading...