दुर्घटना गराउने सम्पर्कविहीन, तीन महिनादेखि अस्पतालमा भोकभोकै युवक

विराटनगर, २५ असार । विराटनगरको विराट नर्सिङ होममा उपचार गराइरहेका एक युवक बिचल्लीमा परेका छन् ।

दुर्घटनामा घाइते भएर उपचारका लागि २२ फागुनमा अस्पताल भर्ना भएका संखुवासभा मादी नगरपालिका– ६ का १७ वर्षीय हर्कबहादुर तामाङ बिचल्लीमा परेका हुन् ।

२१ फागुनमा ट्याक्टर दुर्घटनामा परेका हर्क विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराट नर्सिङहोम (विराटनगर अस्पताल) आएका हुन् ।

विराटमा भर्ना भएको २० दिनपछि अस्पतालले डिस्चार्ज दिएको थियो । तर अस्पतालमा उपचारको खर्च तिर्ने रकम नहुँदा उनी चार महिनायता अस्पतालमै छन् । ट्याक्टर धनी पनि सम्पर्कविहीन भएको तामाङले बताए ।

अस्पतालमा तामाङको कुरुवा दाजु बुद्धिमान बसेका थिए । तर उनी पनि भाइलाई अस्पतालमा एक्लै छाडेर हिँडेका छन् ।

बुद्धिमान जेठमा विराटनगरबाट पैदल घर गएका हुन् । ‘एक्लै बस्छु, अरुले दिएको खान्छु ।’ हर्कले भने, ‘आफैं खाने पैसा छैन, यहाँबाट निस्कन पनि मिल्दैन ।’

दुर्घटनामा हातको एउटा औंला गुमाएका तामाङको ढाड भाँच्चिएको थियो । उपचार गरी अवस्था सामान्य भएपनि आफन्त र ट्याक्टर धनी सम्पर्कविहीन भएका कारण भोकै बस्नु परेको उनले बताए ।

अस्पताल प्रशासनका अनुसार तामाङको उपचारमा साढे ४ लाखको बिल उठेको छ । बिरामी कुरुवा पनि भागेपछि बेला बेला अस्पतालले नै खानाको व्यवस्था गरेको अस्पतालका मार्केटिङ अधिकृत केदार पोखरेलले जानकारी दिए ।

‘ट्याक्टर धनी खोजेर हाम्रो मान्छे ल्याउँछौं’ – मेयर

दुर्घटना पछि ट्याक्टर धनी फरार भएका कारण बिरामीलाई डिस्चार्ज गर्न नसकिएको मादी नगरपालिकाका मेयर बिदुरप्रसाद लिंथेप लिम्बूले बताए ।

ठेकेदार सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी गरेको उनले बताए । ‘ट्याक्टर धनी सम्पर्कविहीन भएपछि हाम्रो मान्छे ल्याउन सकिएन,’ उनले भने, ‘असारपछि ट्याक्टर धनीलाई झिकाएर हाम्रो मान्छे ल्याउछौं ।’

Loading...