नेकपा विवाद : सामाजिक सञ्जालमा दुई धार

ओली पक्षको नारा आइएम विथ केपी ओली, प्रचण्ड पक्षको आइएम विथ एनसीपी

विराटनगर, २४ असार । नेकपाभित्र आन्तरिक विवाद चुलिएपछि युवा र विद्यार्थी दुई धारमा देखिएका छन् । सडकमा प्रदर्शनदेखि सामाजिक सञ्जालमा दुई धार देखिएका हुन् ।

शीर्ष नेताबीच छलफल चलिरहेको अवस्थामा दुई पक्षका युवा कार्यकर्ता सामाजिक सञ्जालमा एक अर्का विरुद्ध उत्रिएका छन् ।

ओली पक्षका युवा र विद्यार्थी ‘आजलाई होइन भोलिलाई, स्थिर सरकारका लागि पाँच वर्षे कार्यकाल ओलीलाई’ भन्ने अभियान चलाइरहेका छन् । ओली पक्षले सडकमा दबाबमुलक प्रदर्शन पनि गरिरहेका छन् ।

सामाजिक सञ्जालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले ‘आजलाई होइन भोलिलाई, व्यक्ति होइन विधिलाई’ भन्ने अभियान सञ्चालन गरेका छन् ।

ओली पक्षको आइएम विथ केपी ओली ट्याग अभियान छ । प्रचण्ड र नेपाल पक्षले आइएम विथ एनसीपी (नेपाल कम्युनिष्ट पार्टी) ट्याग अभियान चलाएका छन् ।

प्रचण्ड र नेपाल पक्षका कार्यकर्ताले सुरू गरेकाे ट्याग अभियान

बुधबारबाट प्रचण्ड र माधव नेपाल पक्षले ‘आजलाई होइन भोलिलाई, व्यक्ति होइन विधिलाई’ अभियान फेसबुकमा सञ्चालन गरेका छन् । ओली पक्षले केही दिन अघिदेखि नै अभियान सञ्चालन गरिरहेका छन् ।

ओली पक्षका कार्यकर्ताकाे अभियान

नेता छलफलमा कार्यकर्ता आरोप प्रत्यारोपमा

नेकपा स्थायी कमिटि बैठकमा बोल्ने अधिकांश सदस्यले राजिनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्रै अल्पमतमा छन् ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई राजिनामा दिन दबाब दिइरहेका छन् । तर ओलीले भने राजिनामा नदिने अडान राख्दै आएका छन् ।

पार्टीभित्र अल्पमतमा परेपछि बिहीबार एक्कासी ओलीले संसद अधिवेशन अन्त्य गरे । अधिवेशन अन्त्यपछि नेकपा अध्यक्ष प्रचण्डले पहिलो अध्यक्ष नै पार्टी फुटाउने तयारीमा रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले पनि प्रचण्ड र माधव नेपाल समूहलाई सोही आरोप लगाउँदै आएका छन् ।

शीर्ष नेतृत्वमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र प्रचण्ड शुक्रबार यता निरन्तर छलफलमा छन् । तर पार्टी नेतृत्व छलफलमा रहेको अवस्थामा कार्यकर्ताहरु समर्थन र विरोधमा सडक र सामाजिक सञ्जालमा छन् ।

विवाद समाधानका लागि भन्दै आजलाई बोलाइएको स्थायी समिति बैठक दुई दिन स्थगित भएको छ । गत बिहीबार दुई दिनका लागि स्थगित बैठक सहमति जुटाउन भन्दै तेस्रो पटक २६ असारमा बस्नेगरी स्थगित भएको हो ।

Loading...