अमेरिका डब्ल्यूएचओसँग औपचारिक रूपमा अलग हुँदै

विराटनगर, २४ असार । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग औपचारिक रूपमा अलग हुने भएको छ ।

संयुक्त राष्ट्र संघले अमेरिकाले डब्लूएचओबाट अलग हुन आँटेको सूचना ६ जुलाईमा दिएको पुष्टि गर्दै अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिर आउने प्रक्रिया पूरा हुन एक वर्ष लाग्न सक्ने जनाएका छन् ।

२०२१ जुलाईबाट मात्रै अमेरिका डब्लूएचओबाट अलग हुन पाउने छ ।

विपक्षी डेमोक्रेट सांसदले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् र महामारीको बीचमा डब्ल्यूएचओबाट अलग हुनु अमेरिकी नागरिकको हितमा नभएको, अमेरिकाका मानिसको ज्यान बचाउन नसक्ने र अमेरिका एक्लै हुने भन्दै ट्वीट गरेका छन् ।

ट्रम्पले मेको अन्तिममा डब्लूएचओले कोरोना भाइरसका विषयमा चीनको समर्थन गरेको तथा अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग अन्त कतै प्रयोग गरिरहेको आरोप लगाउँदै उक्त संगठनबाट बाहिरिने घोषणा गरेका थिए ।

ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । 

डब्लूएचओले अपिल गरेपनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । उनले डब्ल्यूएचओलाई दिँदै आएको रकम अन्य कुनै स्थानमा दिने जानकारीसमेत दिएका छन् । 

Loading...