हावाबाट कोरोना सर्दैन भन्न सकिँदैन : डब्लुएचओ

विराटनगर, २४ असार । हावामा रहने साना कण (एरोसोल) मार्फत् कोरोना भाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंगलवार स्वीकारेको छ ।

महामारी रोग विशेषज्ञ तथा डब्ल्यूएचओका र महामारीको प्राविधिक नेतृत्व गरिरहेकी मारिया भ्यान केरखोभले कोरोना भाइरस हावाबाट फैलिने सम्भावनाको बारेमा कुरा भइरहेको जानकारी दिएकी हुन् ।

यहीँ विषयमा डब्लुएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्जीका अनुसार भीड भएको ठाउँ, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट सङ्क्रमण सर्दैन भन्न सकिँदैन ।

कोरोना भाइरस हावामा फैलिएको प्रमाण भएपनि यसलाई निश्चित रूपमा भन्न नसकिने हुँदा पक्का प्रमाण जुटाउन र यसलाई बुझ्न अझै जरुरी भएको हुँदा काम जारी रहने उनको भनाइ छ ।

सोमबार प्रकाशित एक जर्नलमा ३२ देशका २३९ जना वैज्ञानिकले यो भाइरस हावाबाट पनि मानिसमा सर्नसक्ने प्रमाणका साथ डब्लुएचओलाई कोरोनाभाइरस सङ्क्रमण रोकथामसम्बन्धी रहेको निर्देशिकामा सुधार गर्न अपिल गरेका थिए ।

योभन्दा अघि डब्लुएचओले कोरोना भाइरस सङ्क्रमित मानिसको नाक तथा मुखबाट निस्कने छिटाको माध्यमबाट भाइरस फैलने बताउँदै आएको थियो ।

Loading...