birat ribon

कोरोनाले बोलबम प्रभावित, सुनसान पशुपति क्षेत्र

Neuro
कोरोनाले बोलबम प्रभावित, सुनसान पशुपति क्षेत्र

काठमाडौं, २४ असार । कोरोना महामारीका कारण बोलबम यात्रा प्रभावित बनेको छ ।

चान्द्रमासअनुसार २२ असार सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । तर चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ ।

cura insider

पशुपतिनाथलाई विश्वभरका हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले बोलबमको समयमा चहल पहल हुन्थ्याे । पशुपतिमा यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे ।

गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान बनेको हो ।

बोलबम काँवरिया सघं, भोलेनाथ काँवरिया सघंलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमुनिबाट वागमतीको जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन ।

जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो । उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो । यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन ।

सुनसान पशुपति क्षेत्र

प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्थ्याे । यस वर्ष भने पशुपति क्षेत्र सुनसान छ ।

पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सक्रंमणका कारण ११ चैतदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ ।

१ असारबाट बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले ७ साउनसम्म जारी रहने घोषणा गरेको छ ।

अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

‘असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्’ उनले भने ‘अन्य क्षेत्र खुलेको चार÷पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ ।’

jackson ribon