चिकित्सकको लापरवाहीले मृत्यु भयो भन्दै आफन्तले तोडफोड गरे, बिरामी निको भएर घर फर्किए

चितवन, २४ असार । मृत्यु भएको भनिएका व्यक्ति घर फर्किएका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भनिएका भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएर मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन ।

उपचारमा लापरवाही गरी मृत्यु भएको भन्दै आफन्तले अस्पताल ताडेफोड पनि गरेका थिए ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।

तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । ‘मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु ’उनले भने ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको बुबा केदारले बताए ।

अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए ।

एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रासस

Loading...