विराटनगरका संक्रमित : आमा र तीन छोरामा काेराेना पोजेटिभ, बुबाको रिपोर्ट नेगेटिभ

विराटनगर, २३ असार । मंगलबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका ६ मध्ये चार जना एकै परिवारका रहेको पाइएको छ ।

विराटनगर– १५ का एकै परिवारका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ३२ वर्षिय महिला र १२, ९ र ७ वर्षिय बालक छन । संक्रमित बालक र महिला आमा छोरा हुन ।

भारतबाट सँगै आएका महिलाका श्रीमानको कोरोना जाँच रिपोर्ट भने नेगेटिभ आएको छ । सँगै आएका एकजनाको रिपोर्ट नेगेटिभ आएपछि पून जाँचका लागि पठाइएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनीहरु भारतबाट १६ असारमा विराटनगर आएर महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य महाशाखा प्रमुख कार्कीका अनुसार मंगलबार संक्रमण पुष्टि भएका अन्य २ मध्ये एकजना विराटनगर– ६ र अर्का एकजना विराटनगर १७ का हुन ।

विराटनगर १७ का २९ वर्षिय पुरुष आठ दिन अघि कतारबाट आएका हुन । विराटनगर ६ की ४० वर्षिय महिला भारतबाट आएर क्वारेन्टाइनमा बसेकी हुन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६८५ पुगेको छ ।

Loading...