न्यू क्यासल र वेस्ट ह्याम बराबरीमा रोकिए

विराटनगर, २२ असार । प्रिमियर लिगको ३३औं चरणका बाँकी रहेका खेलअन्तर्गत न्यू क्यासल युनाइटेड र वेस्ट ह्याम युनाइटेड बराबरीमा रोकिएका छन ।

१६औं स्थानको वेस्ट ह्याम १२औं स्थानको न्यू क्यासल युनाइटेडको घरेलु मैदान सेन्ट जेम्स पार्कमा पाहुना टोलीको रुपमा पुगेको थियो ।

यी दुवै टोलीलाई आ–आफ्नो खेल जित्नै पर्ने दबाब थियो । रेलिगेशन जोनबाट बच्न वेस्ट ह्याममलाई स्पष्ट तीन अंक चाहिएको थियो भने शीर्ष दशभित्र पर्न न्यू क्यासललाई तीन अंकले महत्वपूर्ण भूमिका निर्वाह गर्थ्यो । तर, दुवै टोलीको सपना हिजो पूरा हुन सकेन ।

आइतबार राति भएको खेलमा न्यू क्यासल र वेस्ट ह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

वेस्ट ह्यामले खेलमा दुई पटक लिएको अग्रता उल्टाउँदै न्यू क्यासलले बराबरीको नतिजा हात पारेको हो ।

खेलको चौथो मिनेटमा नै वेस्ट ह्यामका लागि माइकल एन्टोनियोले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर वेस्ट ह्यामको अग्रता २० मिनेट पनि टिकेन ।

न्यू क्यासलकातर्फबाट माइगेल अल्मिरोनले सिक्स यार्ड बक्स भित्रबाट सुन्दर गोल गर्दै बराबरी गरे ।

पहिलो हाफमा सुरुवाती अग्रता जोगाउन नसकेको वेस्ट ह्यामले दोस्रो हाफको ६५औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता बनायो । यसपटक हैमका लागि टोमास सूचेकले गोल गरेका थिए ।

वेस्ट ह्यामले प्रहार गरेको कर्नर क्रसबारमा लागेर रि–बन्ड आएपछि सूचेकले देब्रे खुट्टाले आकर्षक गोल गरेका थिए ।

तर, यसपटकको अग्रता पनि वेस्ट ह्यामले सुरक्षित राख्न सकेन । अग्रता लिएको दुई मिनेटमा नै न्यू क्यासलले बराबरी गोल फर्काउन सफल भएको थियो ।

न्यू क्यासलका लागि जोन्जो शेलवेले ६७औं मिनेटमा पेनाल्टी एरियाबाट सुन्दर गोल गर्दै खेल अंक बाडे ।

बराबरीपछि अंक बाँडेका दुई टोलीले अंक तालिका समान एक–एक अंक वृद्धि गरे पनि दुवैको स्थानमा भने कुनै परिवर्तन भएको छैन ।

Loading...