प्रिमियर लिग च्याम्पियन बनेपछि लिभरपुलको पहिलो जित

विराटनगर, २२ असार । ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले लिग च्याम्पियन बनेपछि पहिलो जित दर्ता गराएको छ ।

लिगमा ३३औं चरणको खेलअन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले एस्टोन भिल्लामाथि २–० को जित निकालेको हो ।

लिभरपुलको मैदान अनफिल्डमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लिभरपुल चम्किएपछि खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

दोस्रो हाफको ७१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

नाबी केइटाले सिक्स यार्ड बक्स नजिकै निकालिदिएको पासमा मानेले गोल गरेका थिए । उनको प्रहार क्रसबारमा ठोक्किदैं गोलमा परिणत भएको थियो ।

यस्तै, लिभरपुलको दोस्रो गोल वैकल्पिक खेलाडीको रुपमा ८४औं मिनेटमा मैदान प्रवेश गरेका कर्टिस जोन्सले गरेका थिए ।

सलहले हेर्डमार्फत मिलाइदिएको पासमा जोन्सले फस्ट टच सट प्रहार गरेका थिए । पेनाल्टी एरिया भित्रबाट गरिएको जोन्सको प्रहार रोक्न भिल्लाका गोलरक्षकले प्रयास गरे पनि सफल हुन सकेनन् र लिभरपुलले खेल आफ्नो पोल्टामा पा¥यो ।

जितसँगै लिभरपुलले लिगमा जितको संख्यामा वृद्धि गरेको छ । ३३ खेलमा २९ जित दर्ता गराएको लिभरपुलले यो सिजन च्याम्पियन घोषणा भएपछि पहिलो जिता निकालेको हो ।

चेल्सीसँग दोस्रो स्थानको म्यानचेष्टर सिटीको लिगमा हार भोगेसँगै लिभरपुल सात खेल अगावै प्रिमियर लिग च्याम्पिन घोषित भएको थियो ।

तर, च्याम्पियन बनेलगत्तै दोस्रो स्थानको सिटीसँगको खेलमा लिभरपुृलले लज्जास्पद हार व्यहोरेको थियो ।

गत शुक्रबार इतिहाद रंगशालमा भएको खेलमा लिभरपुलको पोस्टमा सिटीले गोलको वर्षा गराएको थियो । सिटीसामु निरीह बनेको लिभरपुलले ४–० गोलान्तरको हार भोगेको थियो ।

Loading...