इम्बोस्ड नम्बर प्लेट जडान साउनबाट, दुई पाङ्ग्रे सवारीकाे जडान शुल्क दुई हजार पाँचसय

काठमाडौं २१ असार । साउनबाट इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने तयारी गरेको हो ।

करिब साढे दुई वर्षदेखि रोकिएको जडान १ साउनबाट सुरू हुनेछ । विभाग दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकेको छ ।

तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपैयाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपैयाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपैयाँ शुल्क तोकिएको छ ।

इम्बोस्ड नम्बर जडानका लागि हालसम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Loading...