आयोगमा अधिकार, पदाधिकारी र बजेट समयमै आएन

काठमाडौं, २१ असार । संवैधानिक आयोगहरुमा पदाधिकारी र बजेट समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

सरकारले आयोगहरुलाई अधिकार पनि नदिने तथा पदाधिकारी र बजेट समेत समयमा नदिँदा कार्यसम्पादनमा समस्या हुने गरेको हो ।

आयोग गठन भएको लामो समय वित्दा समेत अझै धेरै आयोगहरुमा पदाधिकारीहरु पूर्ति गरिएको छैन् ।

संसदको महिला तथा सामाजिक समितिमा आयोगको प्रतिवेदनमा माथिको छफफलमा मुस्लिम आयोगका प्रतिनिधिहरुले बजेट र पदाधिकारी समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या भएको बताए ।

आयोगका सचिव शम्भुबहादुर खड्काले पुरै अधिकार पनि नदिने पदाधिकारी पनि समयमा नदिए आयोग गठन गर्नुको औचित्य नहुने बताए ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कुनै पनि संवैधानिक आयोगमा सरकारले प्रयाप्त स्रोत साधनको व्यवस्था गर्न नसकेको बताए ।

आयोगको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले मुस्लिम समुदायभित्र देखिएका समस्याहरु समाधानका लागि काम गर्न आग्रह गरेका थिए । सांसद लक्ष्मी परियारले सबैभन्दा ठूलो कुरा शिक्षा र स्वास्थ्य भएकाले त्यसलाई ध्यान दिनुपर्ने बताइन ।

सांसद गंगा चौधरी मदरशाहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताइन ।

सांसद शिवकुमार मण्डलले मदरशाहरुलाई प्राविधिक शिक्षासँग जोड्न आवश्यक रहेको बताए ।

समिति सभापति निरुदेवी पालले मुस्लिम समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र शैक्षिक क्षेत्रको मुल प्रवाहमा ल्याउन जरुरी रहेको बताइन ।

लैङ्गिक हिंसालाई प्रथामिकताका साथ नियन्त्रण गर्न र मदरशाहरुको अभिलेखिकरण गरी व्यवस्थित गर्न आयोगलाई निर्देशन दिइन ।

Loading...