ढलमा भाइरस भेटिँदैमा समुदायमा काेराेना फैलियो भन्न मिल्दैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा कोरोना भाइरस देखिँदैमा समुदायमा संक्रमण फैलियो भन्न नमिल्ने बताएको छ ।

राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भन्न नमिल्ने बताएको हो ।

संक्रमित व्यक्ति वा निको भएका व्यक्तिबाट सृजित फाेहाेरबाट भाइरसका टुक्रटुक्री ढलमा मिसिन सक्ने भएपनि मानिसमा सर्ने खालको नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म भाइरस बाच्ने बताउँदै उनले ढलबाट कोरोना सर्ने सम्भावना कम हुने बताए ।

प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।

ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले सतर्कता अपनाउन भने आग्रह गरे ।

Loading...