युभेन्टसको जितमा रोनाल्डोको २५औं गोल

विराटनगर, २१ असार । टोरिनोविरुद्धको खेलको ६१औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै रोनाल्डोले सिरी ‘ए’ मा युभेन्टसका लागि २५औं गोल पुरा गरेका छन ।

टोरिनोविरुद्ध गएराति भएको खेलमा एक गोल गरेका रोनाल्डो युभेन्टसका लागि एक सिजनमा २५ गोल गर्ने १९६१ पछि पहिलो खेलाडी बनेका छन् ।

ओमार सिभोरीले १९६१ मा एकै सिजन २५ गोल गरेयता युभेन्टसका कुनै खेलाडी पनि रेकर्ड बनाउन सकेका थिएनन् ।

सिरी ए अन्तर्गत ३०औं चरणको खेलमा युभेन्टसलाई सुरुवाती अग्रता भने पाउलो डिबालाले दिलाएका थिए । खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता बनाएको युभेन्टसका लागि दोस्रो गोल भने जुआन कुआड्राडोले गरेका थिए ।

पहिलो हाफको इन्ज्यूरी समयमा पाएको पेनाल्टीमा टोरिनोले गोल गर्दै युभेन्टसमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको थियो । टोरिनोका लागि आन्द्रे बेलोट्टीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा २–१ को नतिजा निकालेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्न सफल हुँदै आफ्नो जित सुनिश्चित गरेको थियो ।

६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गरे भने चौथो गोल युभेन्टसले उपहार पाएको थियो । डोगलास कोस्टाले गरेको क्रस क्लियर गर्ने क्रममा टोरिनोका डिफेन्डर कोफीले आत्मघाती गोल गरेका थिए ।

३० खेलमा २४ जित, तीन बराबरी र तीन हारको नतिजा संगालेको युभेन्टस तालिकाको पहिलो स्थानमा यथावत छ । ७५ अंकसहित पहिलो स्थानमा युभेन्टस रहँदा दोस्रो स्थानको लाजियोको भने ६८ अंक मात्र छ ।

युभेन्टसविरुद्धको खेल गुमाएको टोरिनो भने ३१ अंकसहित तालिकाको १३औं स्थानमा छ ।

Loading...