बायर्न म्युनिखलाई २० औं पटक जर्मन कपको उपाधि

विराटनगर, २१ असार । जर्मन क्लब बायर्न म्युनिखले २० औं पटक जर्मन कपको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न किर्तिमानी २० औं पटक जर्मन कपको उपाधि जितेको हो ।

बार्यनको लागि १६औं मिनेटमा डेभिड आल्बाले फ्रिकिकमार्फत गोल गरेका थिए ।

पेनाल्टी एरिया निजक लिभरकुसनका खेलाडीले बार्यनका फरवार्ड लेवान्डोस्कीलाई फाउल गरेपछि पाएको फ्रिकिकलाई आल्बाले सुन्दर गोलमा परिणत गरेका थिए ।

पहिलो गोल गरेको दश मिनेट नहुँदै जोसुआ किमिचको पासमा सर्ज गेनाब्रीले सेकेण्ड बार चेपेर गरेको प्रयासलाई लेभरकुसनका गोलरक्षकले रोक्न सकेनन् र २४औं मिनेटमा बार्यनले अग्रता दोब्बर बनायो ।

बार्यनका लागि तेस्रो गोल भने रोबर्ट लेवान्डोस्कीले गरेका थिए । गोलरक्षक मैन्युएल न्युरले दिएको लामो पासमा लेवान्डोस्कीले गरेको प्रहारलाई लेभरकुसनका गोलरक्षक लुकास ह्राडेकीले रोक्ने प्रयास गरेपनि गोलले जाली चुमेको थियो ।

तीन गोलले पछि परेपछि भने लेभरकुसनले खेलमा फर्कने केहि संकेत गरेको थियो । उसका लागि डिफेन्डर स्वेन बेन्डरले हेडमार्फत गोल गरेका थिए । ६४औं मिनेटमा पाएको कर्नरमा बेन्डरले गोल गर्दै बार्यनलाई टक्कर दिन प्रयास गरेका थिए ।

तर, ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो र क्लबको लागि चौथो गोल गर्दै बार्यनको जित सुनिश्चित गरेका थिए । कोमानको स्थानमा मैदान प्रवेश गरेका इभान पेरिसिकले मिलाइदिएको सुन्दर पासमा लेवान्डोस्कीले चिप गोल गर्न सफल भएका थिए ।

खेलको अन्तिम गोल भने लेभरकुसनका काई हावर्ड्जको नाममा रह्यो । पेनाल्टी एरियाभित्र बार्यनका डिफेन्डर अल्फोन्सो डेभिसको ह्यान्ड भएसँगै लेभरकुसनले पेनाल्टी पाएको थियो ।

दुई उपाधि आफ्नो पोल्टामा पारि सकेको बार्यनको अबको लक्ष्य भने अगस्टबाट सुरु हुने च्याम्पियन्स लिग उपाधि हुनेछ ।

Loading...