विराटनगरका संक्रमित मध्ये चारजना एकै परिवारका सदस्य

विराटनगर, २० असार । शनिबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका पाँचजना मध्ये चारजना एकै परिवारका सदस्य रहेको पाइएको छ ।

शनिबार विराटनगर– ९ का चारजना र विराटनगर १० का एकजनामा कोरोना संक्रमण पुष्टि भएकाे थियो । संक्रमित मध्ये विराटनगर – ९ का दुई महिला र दुई पुरुष एकै परिवारका हुन ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित मध्ये ५२ वर्ष उमेरका एक पुरुष र एक महिला छन । त्यस्तै १४ वर्षिय युवक र २२ वर्षिय युवती छन् । उनीहरु १३ असारमा भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

भारतबाट संक्रमित सँगै आएका अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ । ६ जना एकै परिवारका भएकाले नेगेटिभ देखिएका २ जनाको पून परिक्षण गर्न लागिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । होम क्वारेन्टाइनमा बसेका कारण महानगरले छिमेकीको पनि कोरोना जाँच गर्ने तयारी गरेको छ ।

त्यस्तै विराटनगर १० की ३४ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ । १२ असारमा विराटनगर आएकी महिला होटलको क्वारेन्टाइनमा बसेकी थिइन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ । ती मध्ये ४५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

Loading...