नेकपा कार्यकर्ताले भने ‘अरिंगालको झुण्ड हैन, कर्मी मौरी चाहिएको छ’

विराटनगर, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कर्मी मौरी चाहिएको प्लेकार्डसहित कार्यकर्ताले नेकपा माेरङकाे कार्यालयमा धर्ना दिएका छन् ।

स्थायी समितिको बैठक चलिरहेकाे अवस्थामा नेताको समर्थन र विरोधमा र्याली निकालिएपछि नेकपाका कार्यकर्ताले मोरङको पार्टी कार्यालय विराटनगर पाञ्चालीमा अरिंगालको झुण्ड नभई कर्मी मौरी चाहिएको बताउँदै धर्ना दिएका हुन ।

उनीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा स्वतन्त्रको नाममा प्रदर्शन गर्ने पार्टीका नेता कार्यकर्तालाई कारवाही गर्न माग गरे ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि केही कार्यकर्ताले अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा प्रदर्शन गरेका थिए ।

शनिबार प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न माग गरे ।

अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारी, जिशस न्यौपानेलगायत कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

Loading...