कोरोनाका कारण नेपालमा थप दुईजनाको मृत्यु

विराटनगर, २० असार । कोरोना संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ जना र रुपन्देहीका १ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो ।

१७ असारमा कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ असारमा स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनी मधुमेह रोगी थिए । कोरोनासँगै निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो ।

रुपन्देही देबदहका ७५ वर्षिय वृद्धको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

क्षयरोगका विरामी वृद्ध त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको १८ असारमा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ ।

शनिबार देशभर २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

Loading...