लकडाउनका कारण भद्रगोल ‘इको-फाउन्टेन पार्क’(फोटो फिचर)

विराटनगरस्थित वीरेन्द्र सभा गृहसँगै जोडिएको छ ‘इको–फाउन्टेन पार्क’ । महानगरभित्र रहेको घुम्ने रमणीय पार्क नेपालमा लकडाउन सुरु भएदेखि नै बन्द छ ।

करिब पाँच कठ्ठा जग्गामा निर्माण गरिएको यो पार्कमा अन्य सामान्य समयमा दैनिक डेढ सय मानिस घुम्न आउने गर्थे ।

विराटनगर महानगरपालिका र मोरङ व्यापार सघले सार्वजनिक निजी साझेदारी मोडेलमा पार्क निर्माण गरेको पार्क २०७५ असोजयता सञ्चालनमा छ ।

महानगरको ८५ र व्यापार संघको १५ प्रतिशत लगानी गरी एक करोड ८४ लाखमा निर्माण गरिएको यो पार्क अहिले भने सुनशान छ । सर्वसाधरण घुम्न आएका छैनन् । पार्क सरसफाई नहुँदा कुरुप बनेको छ ।

पार्कमा यतिबेला घाँसले भरिएका छन् । पार्कबाहिर प्रवेशद्वारमा फाउन्टेन इको फार्क लेखिएको माथि पानी निस्किरहने गरी बनाइएको फाउन्टेन पनि बन्द छ ।

पार्ककोबीच भागमा रहेको पोखरीमा कमल फुलमाथि जलपरी र दुई क्रितिम डल्फिन राखिएको छ । पोखरीको चारैतिरबाट कमलको फूलमा आइरहने गरी निर्माण गरिएको पानीको फोहरा पनि बन्द छ । पार्कमा जडान गरिएका सबैखाले बत्तीको विद्युत प्रवाह पनि रोकिएको छ ।

बगैंचाभित्र आकर्षक डिजाइनमा बनाइएका फलैंचा यतिबेला रित्ता छन् भने घुम्न आउने मानिसको खानपिनका लागि पार्कको पूर्वपट्टि रहेको क्यान्टिनमा ताला झुण्ड्याइएको छ ।

पार्कको पूर्वोत्तर कुनामा रहेको बगैंचा र विभिन्न जनावरको मुखबाट पानी निस्कदै गरेका आकर्षक धारा पुग्न बनाइएका दुई वटा पुलले घुम्न आउने मानिस कुरिरहेका छन् । पुलमुनि फोहोर छ ।

बालबालिकालाई घुम्न, रम्नका लागि बनाइएका संरचना भएका स्थान पनि यतिबेला सुनसान छन् ।

तीन महिनादेखि बन्द रहेको पार्कको सरसफाई भने बिहिबारबाट सुरु गरिएको छ । महानगरले निर्देशन दिएकाले पार्कको सरसफाई सुरु गरिएको पार्क इन्चार्ज विरेन्द्र कुमार महतोले बताए ।

ईको–फाउन्टेन पार्कजस्ता सार्वजनिक स्थल मानिसको बढि भिडभाड हुने क्षेत्र भएकाले नेपाल सरकारले खुल्न अनुमति दिएको छैन ।

शब्द,तस्बिर : शिवहाङ राई

Loading...