नेपालमा करिब ६५ लाख सलह भित्रिए , नयाँ झुण्ड आउने सम्भावना कम

काठमाडौं, १९ असार । हावाको गतिमा परिवर्तन नभए नेपालमा थप सलहको झुण्ड भित्रिने सम्भावना नरहेको सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले बताएका छन ।

हालसम्म नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको उनले बताए । नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन उनले बताए ।

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित भएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको बताए ।

बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको उनले बताए ।

भारतको इटहवा भैरहवा नाका देखि ५ सय किलोमिटर नजिक छ । तर शुक्रबार सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको उनले बताए ।

मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन उनले बताए ।

रासायनिक बिषदी प्रयोग गर्न मुस्किल

सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको उनले बताए । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले बताए । तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चारपाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए ।

दश जिल्लामा क्षति

कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने १७ आसारसम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको छ ।

१३ असारमा भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पा सम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए ।

नेपाल भित्रिएको ५ दिनमा अर्घाखाची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछाम सम्म पुगेको बताउनुभयो । उहाँले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युडानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए ।

Loading...