विवाह र मलामीमा ४ सय बढी सहभागी, सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारत, १८ असार । १५ जुनमा भारतको पटनास्तिथ पालिगंजमा आयोजित विवाह समारोहमा उपस्थित भएका १ सय बढी पाहुनाहरू कोरोना भाइरस संक्रमित बनेका छन् ।

कोरोना संक्रमणको लक्षण देखिएका बेहुलाको विवाहमा उपस्थित हुने १ सय ११ जना मानिसहरू संक्रमित भएको पटनाका प्रमुख चिकित्सा अधिकारी राजकिशोर चौधरी पुष्टि गरेका छन् ।

विवाहको दुई दिनपछि बेहुलाको मृत्यु भएको थियो ।

संक्रमणको लक्षण देखिए पनि कोभिड–१९ परीक्षणविना नै बेहुलाको अन्तिम संस्कार गरिएको थियो ।

गुरुग्रामका २६ वर्षीय सफ्टवेयर इन्जिनियरको विवाह र अन्तिम संस्कारमा लगभग ४०० जना मानिसहरूको उपस्थिति रहेको बताइएको छ ।

कोभिड–१९ को लक्षण देखिएका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो ।

तर, उनको परिवारले उनलाई औषधि खान लगाएर परम्पराअनुसार ३ सय बढी पाहुना सहभागी भएकाे एक समाराेहमा विवाह गराइदिएका थिए ।

दुई दिनपछि घरमै निधन भएको उनको अन्तिम संस्कारमा समेत २ सय बढी सहभागी थिए ।

पटनाको जिल्ला प्रशासनले बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोना भाइरस परीक्षण गराएका थिए ।

उनका नजिकका आफन्तमध्ये १५ जना बढीमा कोरोना संक्रमण पुष्टि भएपछि विवाह र बेहुलाको मलामी गएका झन्डै ४ सय व्यक्तिको पहिचान गरेर कोरोना भाइरस परीक्षण गरिएको र सबैलाई आइसलोसेनमा राखिएको छ ।

विवाह समारोहमा उपस्थित भएका व्यक्तिहरूमा कोरोना भाइरसको पुष्टि भएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

परीक्षणविना नै बेहुलाको अन्तिम संस्कार गरिएको हुँदा संक्रमणको स्रोत पत्ता लगाउन नसकिएको डाक्टरहरूको भनाइ छ ।

प्रशासनले विवाहमा ५० जना र मलामिमा २० जना मात्रै उपस्थित हुन पाउने नियमको उल्लंघन गरेका कारण यस्ताे अवस्था आएकाे जनाएकाे छ ।

Loading...