लकडाउनमा विराटनगर नाकाबाट तस्करी : ६ प्रहरी अनुसन्धानका लागि तानिए

विराटनगर, १८ असार । लकडाउनमा विराटनगर रानी नाकाबाट तस्करीको लाइन चलेपछि प्रदेश प्रहरी कार्यालयले ६ जना प्रहरीलाई आन्तरिक छानबिनका लागि तानेको छ ।

विराटनगरबाट अबैध मटर लिएर भारततर्फ जाँदै गरेको को१त ६२१९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय विराटनगर रानी मातहत रहेका ६ प्रहरीलाई तानेको हो । छानबिनका लागि तानिएकाहरू तल्लो तहका हुन् ।

‘विभागीय कारवाही र अनुसन्धानका लागि तानिएको हो,’ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले भने, ‘आन्तरिक छानबिन हो, सबैकुरा भन्न मिलेन ।’ उनले कमजोरी देखिए विभागीय कारवाही हुने बताए ।

प्रहरीले सीमावर्ती क्षेत्र दरैयाबाट एक लाख ९५ हजार मूल्य बराबरको २ हजार पाँचसय केजी मटर बरामद गरी विराटनगर भन्सार कार्यालय बुझाएको थियो ।

सेटिङ मिलाएर तस्करी !

प्रहरी स्रोतका अनुसार लकडाउनको सुरुआती अवस्थामा नाका बन्द थियो । तर त्यसपछि भने तस्करको समूहको रातको समयमा तस्करी सुरु गरेको थियो ।

प्रहरीको माथिल्लो तहमा सेटिङ मिलाएको बताउँदै तस्करको समूहले दरैयाबाट सामान वारपार गर्दै आएका थिए । ‘ड्युटीमा खटिएकाले माथिल्लो तहमा सेटिङ छ भनेपछि छाड्थे,’ प्रहरी स्रोत भन्छ, ‘तर प्रदेशको टोलीले दरैयाबाट ट्याक्टर नियन्त्रणमा लियो ।’

नाकाबाट ट्याक्टर नियन्त्रणमा लिने क्रममा भारतीय तस्करको समूहले अवरोधको प्रयास गरेको थियो । प्रहरी स्रोतका अनुसार तस्करी नरोकिएका कारण विराटनगर बजारक्षेत्रमा गुट्का, रजनीगन्दालगायत सामाग्री सहज रूपमा उपलब्ध भएका छन् ।

Loading...