हिमाली जिल्ला मनाङ कोरोनामुक्त

मनाङ, १७ असार । हिमाली जिल्ला मनाङ कोरोना भाइरसमुक्त बनेको छ । संक्रमित ५७ वर्षीय पुरुष निको भइ डिस्चार्ज भएसँगै मनाङ कोरोनामुक्त बनेको हो ।

कपिलवस्तु बाढगंगा–१४ स्थायी ठेगाना भई मनाङमा कार्यरत उनमा ४ असारमा कोरोना पुष्टि भएको थियो ।

११ दिन जिल्लास्थित अस्पतालको आइसोलेसन कक्षमा उपचारपछि उनी निको भएर बिदा भएका हुन् ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार ११ दिनको उपचारपछि दोस्रो पटक पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको हो ।

यद्यपि, उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

मनाङमा हालसम्म उनमा मात्र कोरोना भाइरस देखिएको थियो भने अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

Loading...