एक्लोपन र आर्थिक समस्याले आत्महत्या बढ्यो, परामर्शका लागि निःशुल्क हटलाइन व्यवस्था गर्न निर्देशन

काठमाडौं, १७ असार । विपदको समयमा निराशापन, एक्लोपना र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ ।

कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण आत्महत्याका घटनाहरु बढेको अध्ययनले देखाएको हो ।

संसदको महिला तथा सामाजिक समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपदको समयमा हुने चिन्ता, आइसोलेसन र क्वारेन्टाइनमा सामाजिक सम्पर्क नहुने भएकाले एक्लोपन, आर्थिक समस्या र ब्यापार घाटा लगायतका कारण आत्महत्याका घटनाहरु बढेको अध्ययनले देखाएको बताए ।

साढे चार हजारले गरे आत्महत्या

चालू आर्थिक वर्षको जेठसम्म साढे चार हजारले आत्महत्या गरेको नेपाल प्रहरीका प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् ।

संसदको महिला तथा सामाजिक समितिमा ज्ञवालीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ हजार ५८६ जनाले आत्महत्या गरेको बताए । विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताउँदै उनले आर्थिक वर्ष २०७३-०७४ मा ५ हजार १२४, आर्थिक वर्ष ०७४-०७५ मा ५ हजार ३१७ र आर्थिक वर्ष ०७५-०७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना घटेको बताए ।

निःशुल्क हटलाइनको व्यवस्था गर्न निर्देशन

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वारेन्टिनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमि आउने बताए ।

समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ । आत्महत्या जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य विाम लगायतका सामाजिक सुरक्षाको दायरा बढाउन पनि समितिले निर्देशन दिएको छ ।

मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सो निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन ।

Loading...