भारतमा ५९ चिनियाँ एपमा प्रतिबन्ध, चीनको आपत्ति

विराटनगर, १७ असार । चीन-भारत विवाद पछि भारतले ५९ चिनियाँ मोबाइल एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएपछि चीनले आपत्ति जनाएको छ ।

नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले विज्ञप्ति जारी गर्दै प्रतिबन्धले भारत चीनको व्यापारमा नकारात्मक असर पर्ने बताए ।

विज्ञप्तिमा भारतको कदमलाई विभेदकारी र विश्व व्यापार संगठनको मान्यताको विरुद्ध भनिएको छ ।

चिनियाँ मोबाइल एपले आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै भारतीय सूचना प्रविधि मन्त्रालयले ५९ वटा एपमा प्रतिबन्ध लगाएको थियो ।

भारत र चीनको विवादित क्षेत्र लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेनासँग भएको झडपमा २० भारतीय सैनिक मारिएपछि दुई देशको सम्बन्ध चिसिएको छ । चिनियाँ दुताबासले प्रतिबन्धले भारतमा रोजगारी गुम्ने बताए ।

Loading...