नेकपा बैठक : प्रधानमन्त्रीको अभिव्यक्तिले कार्यसूचीमा छलफल भएन

काठमाडौं, १६ असार । स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अभिव्यक्ति दिएपछि मंगलबार नेकपाको स्थायी समिति बैठक निर्धारित कार्यसूचीमा प्रवेश छलफल नगरी सकिएको छ ।

प्रधानमन्त्रीलाई हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी समिति सोही विषयमा केन्द्रीत भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताए ।

बैठकमा आज सीमा समस्या सम्बन्धी छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहेपनि छलफल हुन नसकेको उनले बताए ।

‘सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो ।’ उनले भने ‘ तर अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकारबाट हटाउन खोजेको, भारतसँग सम्बन्धी विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल भयो ।

उनले निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको विषयमा छलफल भएको बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पारेका थिए । दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै श्रेष्ठले भने ‘म यहि पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो ।’

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

Loading...