कांग्रेस महाधिवेशन नसर्ने, कार्यतालिका हेरफेर

काठमाडौं, १६ असार । नेपाली कांग्रेसले कार्यतालिका परिमार्जन गरी महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार १५ फागुन भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।

यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र ७ पुषमा देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा ८ पुसमा, प्रदेशसभाको ११ पुषमा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय गरेको छ ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १६ पुष, प्रदेशहरुमा ६ माघमा अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

Loading...