कोरोनाविरुद्ध प्रयोग गरिएको एचआइभीको औषधिले फाइदाजनक प्रभाव देखाएन

विराटनगर, १६ असार । कोरोना भाइरको संक्रमणमा एचआइभीविरुद्धको एक प्रभावकारी औषधिले उत्साहजनक नतिजा देखाउन नसकेकाे भारतीय मिडयाले जनाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार लोपिनावियर-रिट्रोनावियर नाम गरेको उक्त औषधिले ट्रायलमा फाइदाजनक नतिजा नदेखाएको हाे ।

मार्चदेखि अक्सफोर्ड युनिभर्सिटीमा रिकभरी ट्रायल चलाइरहेका वैज्ञानिकहरूले एचआइभीविरुद्धको औषधिको साथ अस्पताल भर्ना गरिएका बिरामीहरूमा कुनै प्रकारको सुधार नदेखिएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

रिपोर्टका अनुसार ब्रिटेनका १ सय ७६ एनएचएस अस्पतालहरूबाट कूल ११ हजार ८ सय बिरामीलाई ट्रायलमा संग्लग्न गरिएको थियो ।

सोमबार, परीक्षण स्टीयरिंग कमिटीले कोभिड- १९ बाट अस्पतालमा भर्ना बिरामीहरूमा लोपिनावियर-रिट्रोनावियर कुनै फाइदाजनक प्रभाव नदेखाएको निष्कर्ष निकालेको छ ।

त्यसमध्ये १ हजार ५ सय ९६ लाई लोपिनावियर-रिट्रोनावियर औषधि र ३ हजार ३ सय ७६ जनालाई सामान्य हेरचाह गरिएको थियो ।

१०० दिनपछि यी बिरामीहरूमध्ये ४ प्रतिशतलाई भेन्टिलेसन, ७० प्रतिशतलाई अक्सिजनको आवश्यक भने २६ प्रतिशतलाई श्वासप्रश्वासको कुनै मेसिनको आवश्यकता परेन ।

सामान्य हेरचाहको तुलनामा लोपिनावियर-रिट्रोनावियर लिएका बिरामीहरूको मृत्युदरमा खास फरक नदेखिनुका साथै यान्त्रिक भेन्टिलेटरमा बढ्ने जोखिम वा अस्पतालमा रहनुपर्ने जोखिममा पनि फाइदाजनक प्रभावको कुनै प्रमाण नभेटिएको अक्सफोर्ड विश्वविद्यालयमा चिकित्सा र महामारी विज्ञानको प्रोफेसर मार्टिन ल्यान्ड्रेले बताए ।

Loading...