भारतको जीडीपीमा १.९ प्रतिशत मात्र वृद्धि हुने आइएमएफको अनुमान

एजेन्सी, १६ असार । चौबीस घण्टामा १८ हजार ५ सय नयाँ कोरोना संक्रमितहरू थपिएसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार नाघेको छ ।

गएको हप्ता मात्रै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको थियो । पहिलो एक लाख संक्रमित भेटिन एक सय नौ दिन लागेको भारतमा पछिल्लो एक लाख संक्रमित भेटिन ६ दिन मात्र लागेको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।

कोभिड–१९ संक्रमणको विश्व सूचीमा चौथो स्थानमा रहेको भारत अमेरिका, ब्राजिल र रसियाभन्दा तल रहेको छ ।

संक्रमण फेला परेको सुरुवाती दिनमा रोकथामको लागि आक्रमक रूपमा अघि आएको भारतले देशमा पाँच सय संक्रमित भेटिनसाथ राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा एक अर्ब ३० करोड मानिसले लकडाउनको पालना गरेका पनि थिए ।

पटक–पटक गरी लम्बिएको लकडाउनका कारण भारतको अर्थतन्त्र नराम्ररी प्रभाव परेको छ भने लाखौं मानिस बेरोजगार भएका छन् । लकडाउनबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने वर्ग रहेका छन् ।

भारतीय अर्थ व्यवस्था अनुगमन केन्द्रको तथ्यांक हेर्ने हो भने लकडाउन पश्चात्त भारतमा बेरोजगारीको दर उच्चविन्दुमा पुगेको छ ।

२०२० को सुरुवातमा दश प्रतिशतभन्दा मुनि रहेको बेरोजगारीको ग्राफ लकडाउन भएयता बढेर २५ प्रतिशत नजिक पुगेको भारतीय अर्थ व्यवस्था अनुगमन केन्द्रको तथ्यांकले देखाएको छ ।

लकडाउनले अर्थतन्त्र तहसनहस बनाएसँगै भारतको कुल ग्राहस्थमा ६० प्रतिशत हिस्सा ओगेटेको सेवा क्षेत्रको सूचांकमा भारी गिरावट भएको छ । आईएचएस मार्किटको तथ्यांकअनुसार अप्रिल महिनासम्म सेवा क्षेत्रको सूचांक ५.४ अंकमा पुगेको छ । यो एचआईएसले विवरण संकलन गर्न थालेपछिको सबैभन्दा कम अंक हो ।

भारतीय उद्योग–धन्दा पनि लकडाउनका कारण बन्द भएपछि औद्योगिक उत्पादनमा समेत भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको जीडीपीमा ठूलो संकुचन आउने अनुमान गरेको छ ।

आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो लकडाउन र आर्थिक संकटबाट माथि आउने कार्यमा ढिलाइ भएको कारण यो वर्ष भारतको अर्थतन्त्रमा ४.५ प्रतिशतले कमी हुनेछ ।’

साथै भारतको जीडीपीमा १.९ प्रतिशतको मात्र वृद्धि हुने पनि आइएमएफले अनुमान गरेको छ ।

आर्थिक संकट कम गर्ने योजनासहित भारतले अप्रिलको मध्यबाट लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो । तर, यसले थलिएको अर्थतन्त्र मजबुत बनाउनभन्दा पनि कोरोना संक्रमितको संख्या वृद्धि गर्ने भूमिका निर्वाह गर्‍यो ।

विश्वका अन्य राष्ट्र जस्तै भारत पनि कोभिड–१९ नियन्त्रण गर्दै राष्ट्रमा आइपर्न सक्ने आर्थिक संकटलाई सन्तुलनमा ल्याउन प्रयासरत छ ।

तर, कोरोना संक्रमणले महामारीको रूपमा लिएको भारतमा उद्योग, कलकारखाना, व्यापार र व्यवसाय सञ्चालन गर्दै वर्तमान भारत सरकारले आर्थिक क्षेत्रलाई कसरी सुदृढ गर्न सक्छ भन्ने हेर्न बाँकी छ ।

Loading...