चीनमा फेरि महामारी बन्नसक्ने नयाँ भाइरस भेटियो

एजेन्सी, १६ असार । चीनमा सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो नयाँ फ्लू भाइरस फेला परेको छ ।

हाल महामारी बनेको कोरोना भाइरस जस्तै विश्वव्यापी महामारी बनेर फैलिनसक्ने क्षमता भएको नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका हुन् ।

वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन् ।

स्वाइन फ्लूसँग मिल्दोजुल्दो भएपनि केही भिन्नताहरू रहेको हुँदा अनुसन्धानकर्ताहरूले उक्त भाइरसलाई G4 EA H1N1 भन्ने गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्नसक्ने G4 EA H1N1 भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो । भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।

भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाका कारण अनुसन्धानकर्ताहरू चिन्तित छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार तत्कालका लागि भाइरस नफैलिएको हुँदा समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले यसलाई निगरानीमा राख्नुका साथै चनाखो हुनुपर्छ ।

भाइरस नयाँ भएकाले अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी नहुने तथा मानिसहरूमा यसलाई प्रतिरोध गर्ने क्षमता न्यून छ ।

वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा उल्लेख गरेका छन् ।

यस भाइरसबारे अनुसन्धान गरिरहेका तथा यूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले अहिले कोरोना भाइरसका कारण ध्यान मोडिएको भएपनि सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्न नहुने बताउँछन् ।

Loading...