निर्माणमा लापरवाही : विराटनगरको कालोपत्रे सडकमा टिपर भासियो

विराटनगर, १६ असार । सडक निर्माणमा ठेकेदारले लापरवाही गर्दा विराटनगरमा कालोपत्रे सडकमा टिपर भासिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत निर्माण भएको विराटनगर– १० पिपल चौंकको कालोपत्रे सडकमा टिपर भासिएको हो ।

सोमबार साँझ सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको को १ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा भासिएको थियो ।

सडक छेउमा रोकेको टिपरको पछाडि पट्टीको चक्का भासिएको थियो ।

सो सडक परियोजनाको ठेकेदार आशिष निर्माण सेवाले गरेको हो । सडकमा ढल पनि बिछ्याइएको छ ।

प्राविधिक त्रुटि भयो

क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपाने सडक निर्माण गर्दा प्राविधिक त्रुटी भएका कारण भासिएको बताउँछन् ।

सडक भासिएपछि ठेकेदार कम्पनी आशिष निर्माण सेवालाई मर्मत गर्न भनिएको उनले बताए ।

‘काम गर्दै जाँदा प्राविधिक त्रुटीहरू हुन्छन्,’ उनले भने, ‘सडक भासिएको पिपल चोकमा मात्र होइन । अन्य क्षेत्रमा भासिएको थियो, कमजोरी पत्ता लगाएर मर्मत भयो ।’ पिपल चोकमा जमिनको सतहमा पानीको लेबल बढेका कारण त्रुटि पत्ता लगाउन समय लागेको उनले बताए ।

Loading...