नेपाल सरकारका अधिकृतको कौशी खेती, छतबाट मासिक २० हजारसम्म आम्दानी

बबिता लिम्बू

विराटनगर, १६ असार । थोरै जमिनमा घर बनायो करेसाबारी रहँदैन् । तर हाम्रो संस्कार घुर्‍यानमा केही फलाउने चाहना राख्ने छ । त्यसका लागि जमिन पुग्दैन । घरमा नै केही फलाउन धेरैलाई पछिल्लो समय कौशीखेतीले साथ दिएको छ ।

कौशीमा आफूलाई खान पुगेर पनि बिक्री गर्नसमेत पुग्नेगरि तरकारी र फलफूल फल्छ । पछिल्लो समय कौशी खेतीबाट मासिक २० हजारसम्म आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगर–२ का हरिबहादुर खत्री । नेपाल सरकारका अधिकृत खत्री अफिस समयभन्दा बाहेकको समयमा कौशीमा काम गर्छन् ।

प्रदेशसभा सचिवालयका जागिरे खत्री चार विषयका स्नातक र दुईवटा विषयका स्नातकोत्तर पनि हुन । पढेलेखेकाले माटो छुनै हुँदैन भन्ने मान्यताका उनी विरोधी हुन् । कृषि पेशा नपढेकाले मात्र होइन पढेकाहरू संलग्न भए भने सुध्रन्छ भन्ने उनको मान्यता छ ।

उनले आफ्नो १५ सय वर्गफिटको तीनतले घरको छतमा १५ वर्षदेखी कौशी खेती गरिरहेका छन् । सिजनअनुसारको तरकारी र फलफूल फलाएर उनी बिक्री पनि गर्छन् । अहिले दैनिकजसो उनको छतबाट करेला, घिरौंला, टमाटर, खोर्सानी आफूलाई पुग्ने राखेर पनि ५ देखि ७ किलोसम्म बिक्री गर्ने गरेका छन् । उनी भन्छन्, ‘हाइब्रिड प्रविधिमा जाने हो भने कौशीखेतीबाट मासिक २० हजार सजिलै आम्दानी गर्न सकिन्छ ।’

शहर मानिसको सपना पनि हो । सुविधा र अवसर कम भएकाले ग्रामीण परिवेशबाट आम मानिस शहरिया सुखी जीवन जिउन चाहन्छन् । त्यसैले छिल्लो समय बसाइँ सरेर शहर आउने क्रम बढेको छ । स्थायी होस् वा अस्थायी मानिसहरू शहरमा बस्न रुचाउछन् । जसको कारण शहरमा जमिनको खण्डीकरण बढ्दो छ ।

सीमित जमिन सबैलाई पुर्‍याउनुपर्ने भएपछि शहरमा जमिनको टुक्रने दर ग्रामीण भेगको भन्दा बढी छ । पहिले विगामा हुने किनबेच कठ्ठा हुदै धुरमा झरेको छ । आम मानिसले शहरमा धेरै जमिन किनेर घर बनाउन सक्ने अवस्था कम हुँदै गएको छ । त्यसैले आजकल ५ धुर र १० धुरमा घरहरू बन्न थालेका छन् । जमिन महंगो हुँदै जानु र थोरै जमिनमा घर बनाउनुपर्ने बाध्यताको कारण आम मानिस कौशीखेतीप्रति पछिल्लो समय आकर्षित हुँदै गएका छन् ।

प्रदेशसभा सचिवालयका जागिरे खत्री चार विषयका स्नातक र दुईवटा विषयका स्नातकोत्तर पनि हुन । पढेलेखेकाले माटो छुनै हुँदैन भन्ने मान्यताका उनी विरोधी हुन् । कृषि पेशा नपढेकाले मात्र होइन पढेकाहरू संलग्न भए भने सुध्रन्छ भन्ने उनको मान्यता छ । कौशी खेतीका लागि उनी विराटनगरमा नै उदाहरणीय मानिन्छन् । उनको कोशी अस्पताल अगाडि कौशीखेती भएको घर भनेपछि जो कोहीले पनि घरमै पुर्‍याइदिन्छन् ।

अहिले बजारमा सबैभन्दा महंगो ८ सय रुपैयाँ किलो पर्ने, स्वास्थ्यका लागि उत्तम फल भनेर चिनिने ड्रागन फ्रुट पनि उनको छतमा लटरम्म छ । उनको कौशी खेतीको अवधारणालाई उनीकी श्रीमती लक्ष्मीको पनि साथ छ ।

लक्ष्मी कोशी अस्पतालकी कर्मचारी पनि हुन् । कौशी खेतीमा लागेपछि उनीहरूले सब्जी बजार जानु परेको छैन । लकडाउनको बेला कोरोना त्रासका कारण कत्तिले त हरियो साग सब्जी नै खान पाएनन् ।

खत्री परिवारलाई भने सागसब्जीको केही समस्या परेन बरु उत्पादन धेरै भएकाले छिमेकी, आफन्तलाई हरियो तरकारी दिएर पठाएको लक्ष्मी सुनाउँछिन् । कौशीमा भएको खाली ठाउँ यत्तिकै प्रयोगविहीन राख्नुभन्दा यसको पनि केही सदुपयोग गरौँ न भन्ने सोचले लाएको तरकारी र फलफूल खेती अहिले ब्यावसायिक पनि हुँदैछ ।

उद्योग संगठनले सञ्चालन गरेको अर्गानिक तरकारी पसलमा पहिले नियमित तरकारी दिने गरेका खत्रीले पसल बन्द भएपछि भने गाउँमै तरकारी वितरण गर्दिने गरेका छन् भने आफन्तलाई कोशेलीको रूपमा दिने पनि गर्छन् ।

खत्रीले आफूलाई सबैतिर फिट राखेका छन् । स्नातक र स्नाकोत्तर तहलाई अध्ययापन गराउने प्राध्यापक, कहिले अधिवक्ता त कहिले लेखा परीक्षकको कामसमेत गर्छन् । प्रदेशसभा सचिवालयमा अधिकृतको रूपमा सेवा गरिरहेका खत्रीलाई बहुमुखी प्रतिभा भएका ब्यक्ति भन्न सकिन्छ ।

दस धूर जग्गामा बनाएका तीनतले घरको दोस्रो तल्ला र तेस्रो तल्लाको छतमा १५ वर्षदेखि उनी कौशी खेती गरिरहेका छन् । मोतीपुरमा रहेको आफ्नो ४ विगा खेतमा ड्रागन फ्रुटलगायत अन्य तरकारीको खेती गर्ने योजना बनाउँदै छन् ।

Loading...