कृषिविज्ञ राईले प्रतिकिलो रु १०० मा सलह किन्ने

खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह किन्ने गर्ने घोषणा गरेका छन् । कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने घोषणा गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्, “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ । माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।”

कृषिविज्ञ राईले आइतबार लेखेको फेसबुक स्टाटसमा भनिएको छ, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।”

उनले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन् । विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ ।

Loading...