नेपालमा पनि कोरोना संक्रमितमा औषधि परीक्षणको तयारी

काठमाडौं, १६ असार । नेपालले पनि कोरोना संक्रमितलाई औषधि परीक्षण गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले औषधि परीक्षणको तयारी गरेको हो ।

तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए ।

नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका नै हुन् ।

कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी एड्समा प्रयोग हुने लोपिनाविर र रिटोनाविर, डेक्सामेथासोन भएको डा. धिमालले बताए ।

१५ वटा कोभिडका लागि तोकिएका अस्पतालमा उपचाररत झन्डै ८ सय बिरामीमा यो परीक्षण गर्ने लक्ष्य रहेको डा. धिमालले बताए ।

Loading...