सरकारले दिन सकेन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता

काठमाडौं, १६ असार । तीन महिना बित्न लाग्दा समेत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले जोखिम भत्ता पाएका छैनन् ।

कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले जोखिम भत्ता दिने घोषणा गरेको थियो ।

हाल सम्म अर्थ मन्त्रालयले भत्ताका लागि बजेट निकासा गरेको छैन ।

सरकारले चैतको दोस्रो साता स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन कामको प्रकृतिअनुसार चार तहमा विभाजन गरी भत्ता दिने निर्णय गरेको थियो ।

न्यूनतम तलबको शतप्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र दैनिक तीन सय रुपैयाँ खाजा खर्च दिने निर्णय भएको थियो ।

नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २६ हजार जनशक्तिका लागि भत्ता माग गरेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले ९ चैतदेखि २० जेठसम्मका लागि एक अर्ब ३४ करोड र सशस्त्रले ८६ करोड मागेको छ ।

नेपाली सेनाले पनि २४ हजार जनशक्ति खटिएको भन्दै त्यहीअनुसार भत्ताको माग गरेको छ ।

स्रोतका अनुसार स्वास्थ्यकर्मीको भत्तामा मात्र मासिक एक अर्ब खर्च हुने देखिएको छ ।

देशैभर संक्रमण फैलिएकाले ७७ जिल्लाकै कर्मचारीले जोखिम भत्ताको माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमातहत करिब २९ हजार कर्मचारी छन् ।

यद्यपि, क–कसलाई भत्ता दिने भन्नेमा निर्णय नै भइनसकेकाले मन्त्रालयले बजेट माग गरिसकेको छैन ।

Loading...