विराटनगरका मेयरका नाममा दुईवटा गाडी,प्रशासकीय अधिकृत र नगर प्रहरी भाडाको गाडीमा

मेयर भन्छन् : ‘मैले प्रयोग गर्ने गाडी एउटै हो, ल्याण्डरोभर भिआइपीका लागि’

विराटनगर, १५ असार । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका नाममा दुईवटा सरकारी गाडी छन् । तर महानगरका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीनिरीक्षक भने भाडाको गाडी प्रयोग गरिरहेका छन् ।

मेयरमा निर्वाचित भएपछि उनले तत्कालीन कार्यालय प्रमुखले प्रयोग गर्दै आएको को १ झ ४९४ को ट्योटा कम्पनीको फर्चुनर गाडी प्रयोग गरेका थिए । केही महिनाअघि संघीय सरकारले पठाएको बा २ झ १३१५ नम्बरको ल्याण्डरोभर गाडी पनि मेयर भीम पराजुलीले प्रयोग गर्दै आएका छन् । तर पराजुलीले ल्याण्डरोभर गाडी आफूले प्रयोग गर्न नभई भिआइपी आउँदा प्रयोग गर्नका लागि संघीय सरकारबाट ल्याएको बताए ।

उनी धेरै समय फर्चुनर गाडी प्रयोग गर्छन् । ल्याण्डरोभर भने लामो यात्राका लागि प्रयोग गर्दै आएको महानगरले जनाएको छ । उपमेयर इन्दिरा कार्कीले बा ९ च ८५४४ नम्बरको निशान नाभार गाडी प्रयोग गर्दै आएकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरी प्रमुखले दैनिक भाडामा गाडी प्रयोग गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृतले दैनिक २ हजार नगरप्रहरीले दैनिक ४ हजार भाडामा गाडी प्रयोग गरिरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको स्वास्थ्य शाखामा गाडी छैन । कोरोना महामारी नियन्त्रणमा खटिएको स्वास्थ्य शाखाले आवश्यक परेको अवस्थामा एशियाली विकास बैंकको सहयोगमा सञ्जालित क्षेत्रीय सहरी विकास परियोजनाको एउटा गाडी प्रयोग गर्दै आएको छ ।

महानगरपालिकामा भाडाका दुईसहित सातवटा साना सवारी छन् ।

दुईवटा गाडी प्रयोग गर्न मिल्छ

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल मेयरले दुईवटा गाडी सुविधा पाउने बताए । उच्च पदस्थ व्यक्तिले दुईवटा गाडी प्रयाेग गर्नु सामान्य रहेकाे उनले बताए । ‘दुईवटा गाडी प्रयोग गर्न मिल्छ,’ उनले भने ।

कोरोना कहरका बीच गाडी खरिद गर्दै महानगर

विराटनगर महानगरपालिकाले कोरोना महामारी त्रासकाबीच नयाँ गाडी खरिदको प्रकृया अन्तिम चरणमा पुर्‍याएको छ । ५० लाख रुपैयाँ बजेट विनियोजन गरी डबल क्याप हाफ डाला भएको पिकअप भ्यान खरिदको प्रकृया अन्तिम चरणमा पुर्‍याएको हो ।

महानगरपालिका जिन्सी शाखा प्रमुख रामहरि कोइरालाका अनुसार गाडी खरिद गर्ने टेण्डर प्रकृया मूल्यांकन समितिमा छ । समितिले पास गरेपछि खरिदको प्रकृया सुरु हुनेछ । खरिद गर्ने गाडी बजार अनुगमनमा प्रयोग गर्ने महानगरको तयारी छ ।

मेयर भन्छन् – ल्याण्ड रोभर भीआइपीका लागि

संघीय मन्त्रालयले पठाएको ल्याण्ड रोभर गाडी भिआइपी पाहुँना आउदा प्रयोग गर्दै आएको प्रमुख भीम पराजुलीले बताए ।

‘मैले प्रयोग गर्ने गाडी फर्चुनर नै हो,’ उनले भने, ‘ल्याण्डरोभर गाडी भीआइपी पाहुना आउँदा प्रयोग हुन्छ ।’ कहिलेकाहिँ आफू लामो यात्रामा निस्कँदा पनि सो गाडी प्रयोग गर्ने गरेको उनले बताए ।

धेरै समय गाडी प्रयोग गर्न नमिल्ने बताउँदै उनले बिग्रिए बनाउनका लागि बढी खर्च लाग्ने बताए । आफू प्रमुखमा निर्वाचित भएयता सवारी खरिद नगरेको उनले बताए ।

आर्थिक भार घटाउनुपर्छ

मेयरले दुई गाडी राखेर प्रहरी र प्रमुख प्रशासकीय अधिकृत भाडाको गाडीमा चढ्दा महानगरमा अतिरिक्त आर्थिक भार थपिएको सरोकारवालाहरूले बताएका छन् । ‘यस्तो अवस्थामा महानगरपालिका मितब्यायी हुनुपर्ने हो,’ नेकपा विराटनगर महानगरपालिका अध्यक्ष सागर थापाले भने, ‘गाडी भाडामा चलाउँदा महानगरमा अतिरिक्त भार पर्छ ।’

कोरोना महामारीका बेला सवारी प्रयोगमा भन्दा पनि सार्वजनिक काममा ध्यान दिनुपर्ने बताए । संकटका बेला गाडी खरिद गर्न नहुने उनको तर्क छ ।

नेपाली कांग्रेस विराटनगरका सचिव प्रकाश दाहाल महामारीसँग जुध्ने समयमा गाडी खरिद गर्न आवश्यक नरहेको बताए । मेयरले दुईवटा गाडी प्रयोग गर्न पनि उपयुक्त नहुने उनको भनाइ छ ।

Loading...