विराटनगरको साप्ताहिक मौसमी विवरण : दुई दिन सामान्य, पाँच दिन मध्यम वर्षा

विराटनगर, १५ असार । नेपालमा मनसुन सुरु हुन अझै केही समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको भएपनि हाल मौसममा बदली भइ देशभरका विभिन्न स्थानमा वर्षात भइरहेको छ ।

मनसुन सुरु भइनसकेको भएपनि पूर्व मनसुन र मनसुनको संघारमा नेपाल रहेकाले विभिन्न स्थानमा वर्षात भइरहेको विभागले जानकारी दिएको छ ।

विराटनगर विमानस्थलमा रहेको हावा, पानी कार्यालय अनुसार यो हप्ताभरि विराटनगर र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ ।

गएको मंगलबारदेखि आज सोमबारसम्मको मौसमी विवरणलाई आधार मान्ने हो भने यो हप्ताभरीका पाँच दिन मध्यम वर्षा र दुई दिन सामान्य वर्षा भएको छ ।

मंगलबार १३.२ मिलिमिटर (एमएम) वर्षा भएको विराटनगरमा त्यसपछिका लगातार पाँच दिन मध्यम वर्षा भएको थियो । कार्यालयका अनुसार विराटनगरमा आज सोमबार भने २२.४ मिलिमिटर वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चौबीस घण्टाभरि २५ मिलिमिटरभन्दा कम वर्षा भयो भने त्यसलाई सामान्य वर्षा र त्यसभन्दा बढी वर्षा भयो भने त्यसलाई मध्यम वर्षा भन्ने गरिन्छ ।

एक घण्टामा ६० मिलिमिटरभन्दा बढी वा तीन घण्टामा ८० मिलिमिटरभन्दा बढी वा ६ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ ।

महाशाखाको वर्गीकरणलाई आधार मान्ने हो भने विराटनगरमा मंगलबार (१३.२ एमएम) र आज (२२.४ एमएम) गरी दुई दिन सामान्य वर्षा भएको छ ।

यो हप्ताभरीकै उच्च वर्षा भने हिजो आइतबार भएको थियो । विराटनगर र आसपासका क्षेत्रमा हिजो ८४.६ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै, शनिबार ६७.२ मिलिमिटर र शुक्रबार ४९.६ मिलिमिटर वर्षा भएको थियो ।

हावा, पानी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार बिहिबार ७२.२ मिलिमिटर र बुधबार ६९.२ मिलिमिटर वर्षा भएको थियो ।

सामान्यतयाः जुन १० बाट मनसुन नेपालमा भित्रने गर्छ । पूर्वीय भू–भागहुँदै नेपाल प्रवेश गर्ने मनसुन केही दिनमा नै देशभर फैलिन्छ र वर्षा गराउँछ ।

हालसम्म मनसुन सुरु नभएको भए पनि लगातारको वर्षाले विराटनगरका विभित्र स्थानमा बाढी र डुबानको समस्या देखा पर्न थालिसकेको छ ।

पानी निकास हुने संरचना नहुँदा विराटनगर–१८ र नदी तटबन्ध नहुँदा विराटनगर–२ का स्थानीयवासीहरू मर्कामा परेका छन् ।

Loading...