डेरा गरी बस्ने १४ वर्षीया बालिकामा कोरोना संक्रमण

भक्तपुर, १५ असार । भक्तपुरको सूर्यविनायक कटुन्जे–५ मा डेरा गरी बस्ने १४ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारका अनुसार पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउने क्रममा ती बालिकामा आइतबार संक्रमण पुष्टि भएका हो ।

बालिकाको स्थाई ठेगाना ललितपुर प्युटार–४ भएपनि उनी अभिभावकसँग कटुन्जे बस्दै आएकी थिइन् । बालिकालाई थप उपचारका लागि माहाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ ।

संक्रमित बालिका डेरागरि बस्ने घरलाई सिल गरिएको छ भने अभिवावकलाई पनि शिक्षण अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । संक्रमित बालिकाको सम्पर्कमा आएका महानगरीय प्रहरी ठिमी बृत्तका चार जना प्रहरीमध्ये दुई जनालाई कोरियामैत्री नगरपालिका अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने दुई प्रहरीलाई होम क्वारेन्टाइनमा राखिएको महानगरिय प्रहरी बृत्त ठिमीले जानकारी दिएको छ ।

संक्रमित बालिकालाई अस्पताल लैजाने क्रममा चार जना प्रहरी बालिकासँग सम्पर्कमा आएका कारण क्वारेन्टिनमा राख्नु परेको प्रहरीको भनाइ छ । यसअघि शनिबार भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीकी चार वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल राखिएको छ र घर सिल गरिएको छ । बालिकाको परिवारलाई भने होम क्वारेन्टानमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

Loading...